फोहोरलाई जथाभाबी विसर्जन गर्दा वनस्पति र वन्यजन्तुलाई असर

1.08K
shares

रौतहट । रौतहटको चन्द्रपुर नगर क्षेत्रबाट संकलित फोहोरलाई वन नजिकको क्षेत्र विसर्जन गर्दा वनस्पति तथा वन्यजन्तुलाई समेत असर परेको छ ।

चन्द्रपुर नगरपालिका अन्तर्गत रहेको बाग्मती र चाँदी नदीको किनारको वन क्षेत्रमा संकलित फोहोरलाई पालिकाले विसर्जन गर्दै आएको हो ।

नगर क्षेत्रबाट संकलित फोहोर बढी मात्रामा प्लाष्टिकजन्य रहने गरेकाले यसरी फोहोर विसर्जन गर्दा जलचर, वन्यजन्तु र वनस्पतिमा गम्भीर असर परेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।

वन क्षेत्रमा घर, मासु पसल, सैलुन पसल, मेडिकलबाट निस्किने फोहोर जथाभाबी फ्याँकिएका छन् । त्यसै गरी, रक्सीका बोतल, मेडिकलमा प्रयोग भएका सुई, सीसी, बोतल जथाभाबी फालिएको स्थानीयको भनाई छ ।

घाँस–दाउरा गर्न र गाईबस्तु चराउन समेत नमिल्ने गरी फोहोर फालिएको स्थानीय सुकेन्द्र गोलेले बताए । उनका अनुसार कुहिने, नकुहिने फोहोर नछुट्टयाएरै जथाभाबी फाल्ने गरिएको छ ।

नगर क्षेत्रबाट संकलित फोहोर व्यवस्थापनको विषयमा आफूहरूको ध्यानाकर्षण भइसकेको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले बताए ।

फोहोरलाई वर्गीकरण गरेर पुन प्रयोगमा ल्याउने वा जैविक मल बनाउने विषयमा कार्यपालिकाको बैठकमा समेत छलफल हुँदै आएको उनको भनाइ छ । फोहोरलाई मोहरमा परिणत गर्ने आफू प्रयासरत रहेको उनले बताए ।