एसईई परीक्षामा मधेश प्रदेश सरकारले कुनै भूमिका नखेल्ने

949
shares

जनकपुर । मधेस प्रदेश सरकार एसइई परीक्षाको सम्पूर्ण प्रक्रियाबाट बाहिरिएको छ ।

बिहीबारदेखि सुरु हुन लागेको एसईईको परीक्षामा प्रदेश सरकारले दिएको निर्देशन नमानेको भन्दै परीक्षा प्रक्रियाबाट प्रदेश सरकार बाहिरिएको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताए ।

मङ्गलवार मुख्यमन्त्री सिंह र शिक्षामन्त्री रानी शर्मा तिवारीले पत्रकार सम्मेलनको गर्दै परीक्षा प्रक्रियाबाट बाहिरिएको जानकारी दिए ।

प्रदेश सरकारले केन्द्राध्यक्ष गोला प्रथाबाट चयन गर्न निर्देशन दिएकोमा शिक्षा समन्वय इकाईलगायत शैक्षिक संस्थाहरूले नमानेपछि सरकार बाहिरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए ।

उनले २० वर्षदेखि शिक्षा अधिकारीहरूले मधेश प्रदेशको परीक्षामा चलखेल गरेर विद्यार्थीहरूको भविष्यसँग खेलबाड गरिरहेको आरोप लगाएका छन् ।

एसईई परीक्षा समाप्त हुनासाथ शिक्षा अधिकारीलगायत निकायहरुमा अनुगमन गर्नुका साथै तालाबन्दी गर्ने मुख्यमन्त्री सिंहले चेतावनी समेत दिए ।