‘२५ करोड रकम तस्करी पछाडिको नाइकेहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्छ’
वि.सं.२०८१ चैत ६ बुधवार १४:४०
shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले २५ करोड अवैध रकम तस्करी पछाडिको प्रमुख व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताएका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भरियालाई समाउने तर मालिकसम्म नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको भन्दै सरकार यस्ता तस्करहरूको नाइकेसम्म पुगेर उनीहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताए ।
उनले भने, ‘नेपाल सरकारले हिजो अवैध रूपमा सिन्धुपाल्चोकका कुसाङ लामा ड्राइभरले चलाएको एउटा ट्रकबाट २५ करोड नेपाली रुपैयाँ, युरो र डलर गरेर आएको अवैध रकम समात्न सफल भएकोमा नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु । कहिले सुन तस्करीका रूपमा, कहिले डलर तस्करीका रूपमा प्रयोग हुने ड्राइभर र भरियालाई समाउने जो धनी छ त्योसम्म नपुग्ने यो प्रवृत्तिलाई अन्त्य गर्न सरकारसँग माग पनि गर्न चाहन्छु । भरियालाई समाउने तर मालिकसम्म नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको थियो अहिले पनि सरकार त्यसैगरि अन्तिमसम्म नपुगेर ड्राइभर र भरियालाई मात्र समाएर नाइकेलाई समाउन सफल भएन भने फेरि आँखामा छारो हाले जस्तो देखिन पुग्छ त्यसैले सरकार यस्ता तस्करहरूको नाइकेसम्म पुगोस्, जुन तहको भए पनि त्यसलाई कारबाहीको दायरामा ल्याओस् भनेर अनुरोध गर्न चाहन्छु ।’
यसको साथै, उनले जनतामा निरशा छाएको बेला सरकार तस्कर र भ्रष्टाचारीहरूलाई तह लगाउन तयार छ भन्ने सन्देश हिजोको कामले दिएको भन्दै सरकारलाई धन्यवाद पनि दिएका छन् ।











