नेपालमै उत्पादित ब्रस र मन्जनले मुख सफा गर्ने अवस्था छैन : प्रधानमन्त्री ओली

1.27K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी उत्पादनलाई वृद्धि गर्नका साथै उत्पादित वस्तुको प्रयोग पनि बढाउन आवश्यक रहेको बताएका छन् ।

शुक्रवार नेकपा (एमाले) को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह समेत गरे।

उनले भने,‘राष्ट्रिय उत्पादनमा जोड र हाम्रा आवश्यकताहरू उपभोग्य वस्तुहरू हामी आफै तयार गर्न सकौँ भन्ने हो । आत्मनिर्भरतामा देशलाई लैजान सकौँ भन्ने जोड र निर्यातलाई जोड, आयातलाई प्रतिस्थापन गर्नका लागि धागो उत्पादन कपडा र मोजा उत्पादन गर्न जरुरी छ । बिहान उठ्ने बित्तिकै आफ्नै देशको उत्पादन ब्रस र मन्जनले मुख सफा गर्न पाउँदा पनि कति खुसी हुन्थ्यो तर त्यो पनि स्थिति छैन । स्वदेशी उत्पादनलाई वृद्धि गर्नुपर्ने छ । हाम्रा उत्पादित वस्तुहरुपनि प्रयोग गर्ने जनताले बानी बसालौँ ।’

उनले कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिने उल्लेख गर्दै यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहनका लागि सरकार तत्पर रहेको बताए ।

त्यस्तै उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्व बजारमा भइरहेको प्रतिस्पर्धाको होडबाजीको बेला नेपालले नेपालले न्यून वस्तु मात्र निर्यात गर्न सकेको गुनासो गरे ।

उनले भने,‘आजको विश्व बजारमा भइरहेको प्रतिस्पर्धा आफ्ना वस्तुको होडबाजी कसले कुन सामान बजारमा ल्यायो जस्ता प्रश्नहरूमा नेपालको ट्रेड प्रमोसनका विषयहरू आज हामीले वस्तु आयात र निर्यातका समस्याहरूलाई हेर्दा न्यून वस्तु निर्यात भइरहेको छ ।’

त्यस्तै उनले सरकारले देशमा औद्योगिक तथा व्यवसायीक वातावरण सहज बनाउन आर्थिक क्षेत्रसँग सम्बन्धित एक दर्जन ऐन संशोधन गरिसकेको जानकारी दिए ।