राप्रपाको संयोजित संगठनद्धारा कुलमान घिसिङको समर्थनमा विरोध प्रदर्शन
वि.सं.२०८१ चैत १४ बिहीवार १६:०२
shares

काठमाडौं । राप्रपाका सम्पूर्ण संयोजित संगठनले कुलमान घिसिङलाई हटाइएको विरोध प्रदर्शन गरेका छन् । बिहीबार माइतीघर मण्डलामा सरकारको कुलमान घिसिङलाई हटाउने निर्णय गलत भएको भन्दै संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् । सोही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य खुस्बु ओलीले कुलमानलाई हटाएर सरकारले एकदमै अन्याय गरेको बताएकी छन् ।
उनले राम्रो काम गर्नेहरूलाई अपमान गर्ने, राम्रो काम गरेको देख्न पनि नसक्ने जस्तो परिपाटी अहिलेको सरकारले देखाएको भन्दै यसरी सरकारले आफ्नो चरित्र र नैतिकता देखाई रहेको बताइन् । उनले भनिन्, ‘कुलमानजीको कुरामा यो सरकारले एकदमै अन्याय गरेको हो । राम्रो काम गर्नेहरूलाई अपमान गर्ने, आफू पनि राम्रो काम नगर्ने राम्रो काम गरेको देख्न पनि नसक्ने जस्तो परिपाटी अहिलेको सरकारले देखाउनु भएको छ । कुलमानलाई हटाउनु वा बालेनलाई असहयोग गर्नु यो सबै एउटै खालका कुराहरू हुन् । सरकारले आफ्नो चरित्र र नैतिकता देखाई रहेको छ । जुन अत्यन्तै गलत छ । कुलमानको विषयमा यो राज्य प्रतिगमन तर्फ लागेको अनुभूति भएको छ ।’
यस्तै, उनले लोडसेडिङबाट देशलाई मुक्त गर्ने कुलमानलाई सम्मान गर्नुपर्ने ठाउँमा कार्यकालको तीन महिना मात्र बाँकी हुँदा यसरी हटाउनु ऊर्जा मन्त्री दीपक खड्का, प्रधानमन्त्री, प्रचण्ड र देउवाप्रति जति निन्दा गरे पनि कम हुने बताइन् ।
यसको साथै प्रदर्शनमा नेपाली जनताले के भन्छ, कुलमान घिसिङ ले भन्छ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्ने नारा लगाएका थिए भने भ्रष्ट सरकार खारेज गरौँ, अवस्था बदल्न व्यवस्था बदलौँ भनेर लेखको प्ले कार्ड बोकेका थिए ।













