तीनकुने घटना : रविन्द्र मिश्रसहित ५१ जना पक्राउ, २ जनाको मृत्यु र ११० जना घाइते (यस्तो छ पूर्णविवरण)
वि.सं.२०८१ चैत १६ शनिवार ०७:२४
shares

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनमा संलग्नलाई प्रहरीले पक्राउ गरिरहेको छ । अहिलेसम्मको विवरण अनुसार रविन्द्र मिश्र, धवलशमशेर राणासहित ५१ जनालाई पक्राउ गरिएको छ ।
काठमाडौं प्रहरीका प्रवक्ता अपिलराज बोहोराका अनुसार मुख्य कमाण्डर भनिएका दुर्गा प्रसाईं भने फरार रहेका छन् । काठमाडौं प्रहरीले यस प्रकारका ‘अमानवीय, अमर्यादित तथा गैरकानुनी आपराधिक’ गतिविधिमा संलग्न व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याई कानुनअनुसार कारबाही गरिने जनाएको छ।
शुक्रबार पूर्वराजा समर्थकहरुले गरेको प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु र ११० जना घाइते भएका छन् भने १४ वटा आगजनी समेत भएको छ।
काठमाडौं प्रहरीका अनुसार एक पत्रकार र एक प्रदर्शनकारीले ज्यान गुमाएका छन्। काठमाडौंको कीर्तिपुर नगरपालिका ४ बस्ने २९ वर्षका सबिन महर्जन र सुरेश रजक तीनकुनेस्थित मार्वल हाउसमा मृत फेला परेका हुन्।
मृतक रजक एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार हुन् भने महर्जन प्रदर्शनमा सहभागी हुन्।
प्रदर्शनका क्रममा ५३ नेपाल प्रहरी र २२ सशस्त्र प्रहरी पनि घाइते छन्। उता प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएको प्रहरीले उल्लेख गरेको छ।
प्रदर्शन उग्र बनेसँगै प्रदर्शनकारीले १५ वटा सवारीसाधनमा तोडफोड तथा आगजनी गरेको प्रहरीले उल्लेख गरेको छ।
काठमाडौं प्रहरीका अनुसार ९ वटा सरकारी गाडी, सरकारी र निजी नखुलेका ६ वटा गरी जम्मा १५ सवारीसाधनमा क्षति भएको छ। प्रदर्शनकै क्रममा तोडफोड र आगजनीका घटना समेत भएका छन्।
१४ वटा आगजनीका घटना हुँदा ९ वटा संस्था तथा कार्यालयमा तोडफोड भएको प्रहरीले जनाएको छ। यसबाहेक एउटामा भने तोडफोडसँगै लुटपाट भएको छ।
प्रहरीका अनुसार तीनकुने अन्नपूर्ण कम्प्लेक्स, मार्वल हाउस तीनकुने, कोटेश्वर महादेवस्थान, कार्गोको कम्पाउन्ड, कोटेश्वर चोक, भाटभटेनीनजिकैको सरकारी गाडी, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र, समाजवादी पार्टीको कार्यालय, बालकुमारीबाट काठमाडौं आउने करिडोर बाटो, बानेश्वर पुलपारिपट्टि, एयरपोर्टको फोहोरा, इन्द्रेणी सहकारीको कार्यालय भवन सिनामंगल, रोयल रेस्टुराँ सिनामंगल र एरोम्याक्सको कार्यालय रहेको भवन सिनामंगलमा आगजनी भएको हो।
त्यसैगरी तोडफोड भएका संस्था तथा कार्यालयहरुमा अन्नपूर्ण मिडिया नेटवर्क तीनकुने, कान्तिपुर मिडिया हाउस बानेश्वर, केएमसी अस्पताल सिनामंगल, सिनामंगलकै डीआईएअगाडिको नयाँ भवन, सिनामंगलमा रहेका प्रहरीका दुई सीसीटीभी, प्रहरी बिट सिनामंगल भत्केको पुल, प्रहरी प्रभाग कोटेश्वर, ट्राफिक प्रहरी प्रभाव कोटेश्वर र समाजवादी पार्टी कार्यालय बागमती करिडोर छन्।
प्रदर्शनका क्रममा कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा लुटपाट समेत भएको छ।













