नेपालमा लगानी र सहकार्यवृद्धिका सम्भावनाका ढोकाहरु खुले : प्रधानमन्त्री ओली
वि.सं.२०८१ चैत २३ शनिवार १९:०४
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्यवृद्धिका सम्भावनाका ढोकाहरु खुलेको बताएका छन् ।
बाह्रखरी मिडियाले शनिबार काठमाडौंको गोकर्णमा आयोजना गरेको ‘एनसेन–बाह्रखरी गल्फ तथा आर्थिक सङ्गोष्ठी’ मा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपाली र थाइल्याण्डका व्यासायिक समुदायबीचको अनुभव आदानप्रदान र विभिन्न सम्झौता हुनु अन्त्यन्त फलदायी कार्य भएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले ४० प्रतिशतको हाराहारीमा युवा जनसङ्ख्या रहेको स्थितिमा भएका स्रोत साधनको प्रयोग गरे दक्ष जनशक्ति तयार गर्दै विकासको गति तीव्र बनाउनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले आफूले डिजिटल नेपालको फ्रेकवर्क कार्यान्वयनमा ल्याएको स्मरण गर्दै यस क्षेत्रमा दक्ष र रोजगारमूलक जनशक्तिको सङ्ख्या वृद्धि गरेर सूचना प्रविधिको प्रयोगबाट आर्थिक लाभ लिन सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापाले सूचना प्रविधिको उपयोगबाट उत्पादन र उत्पादकत्व बढाउन संसद्बाट हालै पारित भएको विधेयकबाट आधार तय भएको उल्लेख गर्दै सूचना प्रविधिको व्यापकताबाट आर्थिक समृद्धिमा लाग्नुपर्नेमा जोड दिए ।












