नेपालको विकासलाई इतिहासदेखि नै पछाडि पारियो : प्रधानमन्त्री

2K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितमा अडिग रहेर स्वाभिमानको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । उनले देशको सुरक्षा, सार्वभौमसत्ता, राष्ट्रिय हितको रक्षा सम्वद्र्धन, भूगोल एवं स्वतन्त्रताको रक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

सोमबार हिमालयन संवाद कार्यक्रममा बोल्दै ओलीले राष्ट्रिय हितमा अडिग रहेर स्वाभिमानको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् । उनले भने, ‘देशको सुरक्षा, सार्वभौमसत्ता, राष्ट्रिय हितहरूको रक्षा र सम्वद्र्धन, भूगोल एवं स्वाधीनता, स्वतन्त्रता साथै स्वाभिमानको रक्षा गर्दै राष्ट्रिय हितहरूको रक्षा गरेर अगाडि बढ्छौं ।’

साथै उनले नेपाल प्राकृतिक रूपमा धनी भएकाले अन्तर्राष्ट्रिय सम्बन्धलाई धेरै महत्त्व दिनुपर्ने पनि बताए । उनले प्रकृतिका हिसाबले अगाडि भए पनि विकास निर्माणका पक्षहरूमा नेपाल पछाडि नै रहेको बताए ।

उनले भने, ‘प्रकृतिको प्रदूषणलाई स्वच्छ बनाउने, सफा पार्ने आफ्नै खालको मेकानिजम छ । प्रदूषण भयो भने सफा गर्दै लगिन्छ । जबसम्म पृथ्वी रहन्छ तबसम्म दुनियाँमा आरामको जिन्दगी बाँच्न पाउन भन्ने कुरा सोच्न जरुरी छ । प्रकृतिमा धनी छौँ, त्यस कारण अन्तर्राष्ट्रिय सम्बन्ध धेरै महत्त्वपूर्ण छ । हामी विकासमा अलि पछाडि छौँ । आज आएर पछाडि परेको होइन, इतिहासदेखि नै पछाडि पारियो ।’

यसै गरी ओलीले देशमा सामन्ती शासनले गर्दा शिक्षालाई बन्देज गरिएकाले देश विकासमा पछि परेको बताए । उनले ३०÷३२ वर्ष नेपाललाई अलि नयाँ युगतिर अगाडि बढाउँदै लगिरहेको समेत बताए ।

उनले भने, ‘हाम्रो आफ्नै देशमा सामन्ती शासन भयो । जसले शिक्षालाई बन्देजको विषय बनाइदियो । महिलाहरूलाई चुलो चौकोमा मात्र बस्नुपर्ने, बर्को ओढेर जीवन कटाउनुपर्ने, हाँस्न, कसैसँग बोल्न नपाइने जस्ता सामन्ती प्रणाली भएकाले सम्पूर्ण स्रोतहरूलाई कब्जा गरियो । जनताका बारेमा कुनै शासकले सोचेनन् । जसका कारण नेपाल गरिब भयो ।’