धरानका नागरिकको खानेपानीको समस्या समाधान हुन्छ : मन्त्री यादव

1.11K
shares

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानका नागरिकको वर्षौँदेखिको खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् ।

आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) नेतृत्वको एक प्रतिनिधिमण्डलले खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि बजेट विनियोजन गर्न आग्रहसहितको मानपत्र पेश गरेपछि मन्त्री यादवले सो कुरा बताएका हुन् ।

मन्त्री यादवले भने, ‘धरानका नागरिकको खानेपानीको समस्याका विषयमा म सहित सिङ्गो मन्त्रालय जानकार छ । त्यहाँको खानेपानीको दीर्घकालीन रूपमा समाधान गर्नेतर्फ हामी लागि रहेका छौँ । समस्या समाधान गर्छौँ ।’

मन्त्री यादवले धरानको खानेपानीको समस्याका विषयमा आफू पहिलेदेखि नै जानकार रहेकाले त्यहाँको खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधानका लागि दातृ निकायसँगको सहयोगमा समाधान गरिने आश्वासन दिए ।

नगरप्रमुख साम्पाङ नेतृत्वको एक प्रतिनिधिमण्डलले धरानको खानेपानी समस्याबारे विशेष ध्यानाकर्षण गराउँदै आगामी आर्थिक वर्ष २०८२/०८३ मा धरानमा खानेपानीको लागि बजेट विनियोजन गरी दिनका लागि मात्र पत्र बुझाएका थिए ।