मानव अधिकारको हनन हुनेगरी रविलाई पक्राउ गरेको भन्दै रास्वपाद्वारा आयोगको ध्यानाकर्षण
वि.सं.२०८१ चैत २७ बुधवार १४:४६
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई प्रहरीले मानव अधिकारको हनन हुने गरी पक्राउ गरेको भन्दै मानव अधिकार आयोगलाई ध्यानाकर्षण गराएको छ ।
बुधवार रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आफ्नो नेतृत्वमा गएको रास्वपाको टोलीले सामान्य एउटा प्रक्रिया पनि पूरा नगरी लामिछानेलाई प्रहरीले पक्राउ गरेको भन्दै आयोगबाट छानबिन भई आवश्यक कारबाहीको माग सहित आयोगलाई ज्ञापनपत्र बुझाएको जानकारी दिए ।
उनले भने, ‘सामान्य एउटा प्रक्रिया पनि पूरा नगरी दुईरात भएपनि सुत्छ कि भन्ने हिसाबमा राज्य संयन्त्र रातारात लागेर सामान्य जीवनमा ठूलै हलचल ल्याउने खालको काममा राज्य संयन्त्र उत्रियो । त्यसको हामी घोर भर्त्सना गर्दछौँ । हामीले सभापति रवि लामिछाने विरुद्ध मानव अधिकारको हननको यो क्रमलाई राष्ट्रिय मानव अधिकार आयोगबाट छानबिन भई आवश्यक कारबाही होस् भन्ने हिसाबमा आयोगमा आज एउटा निवेदन पेस गरेको छौँ ।’
त्यस्तै, उनले गैरकानूनी रूपमा अनावश्यक बल प्रयोग गरी अभद्र व्यवहार र धरपकड गरी प्रचलित कानून र न्यायिक प्रक्रिया समेत अवलम्बन नगरी गैर कानूनी रूपमा उनलाई पक्राउ गरेको बताए । उच्च अदालतको आदेश नआउँदै हातहतियारसहितको प्रहरीले अघोषित रूपमा घर सिल गरिएकोमा उनले आपत्ति जनाए ।
उनले मानव अधिकार उल्लंघनको घटनामा आयोगले छानबिन गरेर आवश्यक कामकारबाही अगाडि बढाउने आयोगका अध्यक्षले प्रतिबद्धता जनाएको पनि जानकारी गराए ।












