साहित्यले राष्ट्रियता र देश विकासमा सहयोग पुर्‍याइरहेको छ : नेता ढकाल

1.76K
shares

काठमाडौं । एमाले नेता तथा पूर्वमन्त्री भानुभक्त ढकालले कविता, गजलमा भनेका विषयहरूले देश निर्माण, राष्ट्रियता, राष्ट्रिय एकता र मुलुकको उज्ज्वल बनाउन योगदान पुर्‍याउने गरेको बताए ।

एमाले निकट अनेरास्ववियुको राष्ट्रिय युवा संघले आयोजना गरेको युवा साहित्य महोत्सव २०२५ को ग्रान्ड फिनालेमा सम्बोधन गर्दै ढकालले नीति निर्माण र मुलुकको नेतृत्व गर्ने नेताहरुमा भएका कमजोरीलाई हटाएर सतबुद्धिमा आउनको निम्ति पनि रचनात्मक सोचले सहयोग पुग्ने बताएका हुन् ।

उनले भने, ‘जब मान्छेहरू जिम्मेवारी बोधका साथ काममा लाग्छन्, आलोचना भन्दा पनि जिम्मेवारीले व्यक्तिहरूलाई थिच्दै जान्छ । कविता, गजलमा व्यक्त विषयहरूले देश निर्माण, राष्ट्रियता, राष्ट्रिय एकता र नेपालको भविष्य उज्ज्वल बनाउने कुराका निम्ति योगदान पुगोस् । सबैले गरेका आलोचनाहरूले नीति निर्माण गर्ने र मुलुकको नेतृत्व गर्ने नेताहरूलाई पनि कमीहरू छन् भने ती कमीहरूलाई हटाएर सतबुद्धिमा आउनका निम्ति पनि रचनात्मक सोचले सहयोग पुग्नेछ । साहित्य भन्ने कुरा यति राम्रो र मिठो छ की दुई हार मात्र भयो भने पनि बोल्नुपर्ने र भन्नुपर्ने धेरै कुराहरू त्यसमा समेटिएको हुन्छ ।’

साथै उनले मुलुकको सामाजिक अराजकता र सामाजिक विशृङ्खलता राजनीतिमा गाली खेती मात्र हुन्छ भन्ने कुरालाई न्यूनीकरण गर्ने कुराका निम्ति पनि युवा साहित्य महोत्सवले सकारात्मक योगदान पुर्‍याउने बताए ।

यसैगरी राष्ट्रिय युवा सङ्घ शिक्षा विभाग प्रमुख एवं युवा साहित्य सम्मेलनका संयोजक कुबेर अधिकारीले विदेशमा भएका युवाहरूलाई नेपालमा फर्काउन सकौँ भन्ने भाव सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले शतप्रतिशत सबै कुराहरू हामी युवा सक्छौँ भन्ने होइन तर युवाहरूमा अब नेपालमा केही हुन्छ भन्ने भाष्य निर्माण गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘युवाहरूमा हामीले यस्तो भाव पैदा गर्नुपर्छ जसले विदेशमा भएका युवाहरू पनि नेपालमा फर्किउन भन्ने भाव सिर्जना गर्नुपर्नेछ । शतप्रतिशत सबै कुराहरू हामी युवा सक्छौँ भन्ने होइन तर युवाहरूमा अब नेपालमा केही हुन्छ भन्ने भाष्य निर्माण गर्न जरुरी छ । विदेशी भूमिमा रगत पसिना बगाइरहेका युवाहरू हुनुहुन्छ उहाँहरूलाई आफ्नो रिटायर जीवनमा नेपालमा केही गर्छु भन्ने मानसिकता जोगाउनको निम्ति समेत युवा साहित्य सम्मेलन हामीले गरेका हौँ ।’ तीन दिनको साहित्य सम्मेलन शुक्रवार समापन हुँदै छ ।