एयरपोर्टमा प्रहरीद्वारा कुटिए यात्रु

1.07K
shares

यतिबेला सामाजिक सञ्जालमा प्रहरीले एक युवकलाई लछारपछार पारेको यो भिडियो निकै भाईरल बनिरहेको छ । उनी मोरङका सञ्जय ओझा हुन् । जो त्यही दिन आफ्नो देश नेपालमा फर्किएका थिए । ओझा हिमालय एयरलाइन्सको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । विमानस्थलको आगमन कक्षबाट नै प्रहरीले लछारपछार पारेको भिडियो बाहिरिएपछि प्रहरीको निकै आलोचना भईरहेको छ । आलोचनापछि यो घटनाको वास्तविकता पत्ता लागेको छ ।

सञ्जय ओझा युएईमा मार्केटिङको काम गर्छन्। आफन्तको विवाहमा जान उनी १० दिनको छुट्टी लिएर नेपाल आएका हुन्। करिब १० महिनापछि उनी युएईबाट नेपाल आएका थिए । त्यस दिन विमानस्थलको आगमन कक्ष बाहिर ट्रली लिएर उभिँदा एक जना व्यक्ति आएर उनीसँग ट्याक्सी चाहिन्छ कि भनेर सोधेका थिए। त्यसपछि ओझाले आफुलाई लिन आफन्त आउँदै गरेको बताएका थिए । त्यो सुनेपछि ती व्यक्तिले ट्रली राख्न मिल्दैन भनेको ओझाको भनाई छ । ती व्यक्तिले आफू विमानस्थलकै कर्मचारी भएको दाबीसमेत गरेपछि ओझाले परिचय पत्र देखाउन आग्रह गरेका थिए ।

त्यति भन्दै गर्दा प्रहरी आएर गाली गर्न थालेको उनको भनाई छ । जेब्रा क्रसिङ काटेपछि फेरि प्रहरीले गाली गर्दै आएको उनको भनाई छ । त्यसपछि आफूले पनि मोबाइल निकालेर भिडिओ खिचेको उनले बताए। बाझाबाझ भएपछि प्रहरी र ट्राफिक प्रहरीले आफूलाई दुव्र्यहार गरी भित्र लगेर कुटेको ओझाको भनाइ छ।

नेपाल प्रहरीको सुरक्षा कार्यालय गौचरनका प्रवक्ता तथा एसपी लालध्वज सुवेदीका अनुसार यो घटना आइतबार बिहान साढे ११ बजेतिरको हो । भिडिओ भाइरल बनेपछि प्रहरीले उनको विवरण बुझ्ने काम गरेको छ । सिसिटिभी फुटेज हेर्दा उनले माथिदेखि नै ‘लफडा’ गरेको उनले बताए । उनले भन्सारकै कर्मचारीसँग पनि लफडा गरेको प्रहरीको भनाई छ । बाहिर आएपछि ट्याक्सी चालकसँग पनि लफडा गरेपछि प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको दाबी छ । ०००