सुनको मूल्य तोलामा दुई लाख पुग्ने दाबी
वि.सं.२०८२ वैशाख ६ शनिवार ०९:२०
shares

सुनचाँदी व्यवसाय हाम्रो पुर्ख्यौली पेसा हो । करिब तीन सय वर्षदेखि हाम्रो परम्परा हो । नेवार समुदाय भित्रका शाक्य, बज्राचार्य, ताम्राकारहरूले सुनचाँदी र पत्थरको व्यवसाय गर्दै आइरहेका छन् । हजुरबुबा, बुबादेखि हाल पुस्तान्तरण हुँदै आइरहेको पेसा हो । हाम्रो सबै पुस्ता यही पेसामा आबद्ध छन् ।
नेपाल सुनचाँदी व्यवसायी संघले २०६९ साल फागुन २० गते स्थापना भएपछि जल्दोबल्दो समस्याहरूमा काम गर्दै आइरहेको छ । एउटा छाता संगठनको रूपमा प्रतिनिधिमूलक हिसाबमा काम गरिरहेका छौँ । महासंघ भनेको एउटा विशाल सागर जस्तै भएकाले यसका विषयहरू विविध छन् । समस्याहरू अनेक छन् । विभिन्न प्रदेशमा विभिन्न प्रकारको समस्याहरू छन् । ११८ जनजातिहरूले लगाउने गहनाहरूको बारेमा महासंघले बृहत् अध्ययन र अनुसन्धान गरिनै रहेको छ । त्यसमा समस्याहरू पनि ११८ प्रकारकै छन् ।
तर हामीले संघलाई हाल एक प्रशिक्षण र बुज्रुक संस्थाका रूपमा अगाडि बढाएका छौँ । ४० वर्षको इतिहासमा हामीले धेरै आरोह अवरोहहरू पार गर्दै आयौँ । पञ्चायती व्यवस्थादेखि प्रजातन्त्र र हाल गणतन्त्र पनि व्यहोरिरहेका छौँ । गणतन्त्रको हालको अवस्थामा सुनचाँदीको बजारमा स्वायित्व छैन । अधिकार छिनिएको अवस्था छ । एकाधिकार रूपमा बजार चलिरहेको छ । प्रतिस्पर्धा छैन । सरकारले राम्रो नीति बनाइदिएको छैन । औद्योगिक कच्चा पदार्थको रूपमा मान्यता दिनुपर्ने हो त्यो दिएको छैन । कोटा प्रणाली छ । कोटा प्रणालीमा बैकिङ एकाधिकार पनि छ ।
वाणिज्य बैंकहरुले मात्र सुन ल्याउने प्रथाले उपभोक्ताले सुन नपाउने र उद्योगपतिले कच्चा पदार्थ नपाउने अवस्था छ । र बैंकहरुमा सीमित कारोबार छ । अनौपचारिक क्षेत्रमा बजार गइसकेको छ । स्वतन्त्र रूपले प्रतिस्पर्धा गर्न पाएको छैन । यसकारण विकृतिहरू मौलाएको छ ।
०६३ सालमा तत्कालीन अर्थमन्त्री रुपज्योतिले राष्ट्र बैंकको कार्यविधिमा दर्तावाला कम्पनी र लगानीकर्ताले सुन झिकाउन पाउने व्यवस्था सर्वप्रथम सुरु गर्नुभयो । त्यसअघि निजी क्षेत्र र बैंकहरुले ल्याउने गर्थे । तर २०६७÷६८ को कार्यविधिले त्यसलाई ठ्याक्कै उल्टो गरेर बैंकहरुले मात्रै सुन ल्याउन पाउने, बैंकहरुले मात्रै सुनको वितरण गर्न पाउने भनेर राष्ट्र बैंकको कार्यविधि आयो । त्यसलाई अहिलेसम्म कुनै रिभ्यू नगरिएकाले त्यो उपभोक्ता विरुद्ध देखिएको छ ।
किनभने उपभोक्ताले चाहना गर्यो भने दुई तोला काँचो सुन पनि लगानी गर्न पाउँदैन । संविधानले प्रतिस्पर्धाको कुरा गरेको छ, मौलिक अधिकारको कुरा गरेको छ, सम्पत्ति आर्जनको कुरा गरेको छ । तर प्रतिस्पर्धा, मौलिक अधिकार र सम्पत्तिमा लगानी गर्ने मौका नेपाली नागरिकले पाएका छैनन् । सुनको वृद्धि अहिले विश्व बजारमा ३० प्रतिशत भन्दा बढी छ । यही एक सातामा सुनको २५ प्रतिशत वृद्धि भएर आइसकेको छ । बैंकमा पैसा हाल्नु भनेको एक दुई प्रतिशत व्याज आउनु हो । सुनमा पैसा हाल्नु भनेको वृद्धिको हिसावले सबैभन्दा लाभदायी छ । तर नेपाली जनताले त्यो गुमाइरहेको अवस्था छ । नेपाली कर्पोरेट सेक्टरले गुमाएको अवस्था छ । व्यापारीहरुले पनि गुमाएको अवस्था छ ।
सुनको मूल्य वृद्धिको सवाल
महासंघमा आउँदा मेरो नारा थियो–‘सुनचाँदीमा लगानी, भरपर्दो आम्दानी’ भन्ने थियो । अहिले हेर्दा त्यो ठिकै त रहेछ नि । र नेपालीहरूले सुनमा लगानी गर्यो भने विजयी भइने रहेछ । सुनमा लगानी गर्ने मानिसले बाजी नै मारेका छन् । सुनको खानी सबैभन्दा बढी अफ्रिकी देशहरूमा छन् । अरू ठाउँमा पनि छन् तर उत्खनन भएको छैनन् । नेपालमा पनि आठ नौ ठाउँमा छन् । त्यो उत्खनन हुने अवस्था बिस्तारै सुरु हुँदैछ । तर सबैभन्दा बढी चाहिँ दक्षिण अफ्रिकामा छ । हाल विश्वको अवस्था शान्त छैन, एकदमै युद्धग्रस्त छ । अनिश्चिततामा विश्व आर्थिक अवस्था छ इजरायल र अरेबियाको युद्ध छ । यमनमा त्यति नै अशान्ति छ । अफ्रिकामा पनि त्यस्तै छ । युक्रेन र रुसको युद्ध त तीन वर्ष नाघिसक्यो । यसले गर्दा अन्तर्राष्ट्रिय अर्थतन्त्र प्यारालाइस भएको अवस्था छ ।
एक महिनामा चाइना र अमेरिकाको ठूलो कस्टम वार भइरहेको छ । त्यसले गर्दा व्यापारहरू प्यानिकमा छ र क्यासमा छ । त्यसैले सुरक्षित अवतरणको लागि उनीहरूले सुनलाई रोजेका छन् । आफ्नो लगानीलाई सुरक्षित गर्ने हिसाबमा संसारकै व्यापारीहरू लागेको छन् । आर्थिक मन्दी आउन लागेको छ । ठूला ठूला राष्ट्रहरू जुधाइको अवस्थामा छ । त्यसले गर्दा व्यापारीहरूको हार नहोस् भनेर उनीहरूले आफ्नो फन्डलाई सुनमा सुरक्षित अवतरणको लागि रोजेको आस्था छ ।
मूल्य तोलामा दुई लाख पुग्ने दाबी
केही समयअघि सुनको मूल्य घटेको थियो । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जितेपछि विश्व अर्थतन्त्रमा सहज हुन्छ भन्ने थियो । तर उहाँले जुन निर्णय लिनुभयो त्यसले झन् झन् असहज अवस्था बन्यो । सबै घटनाक्रमलाई हेर्दा सुनको मूल्य अझै एक दुई महिना बढ्ने देखिएको छ । किनकि चाइनाले खरिद गरिरहेको छ । चीनमा पनि आर्थिक समस्या आउन लागिरहेको छ । चीन पनि त्यसै चुप लागेर त बस्दैन होला । उसले पनि आफ्नो घोषणा गर्न बाँकी नै छ ।
विश्वका मल्टी विलिनियरहरुको उद्योग धेरैजस्तो चाइनामा नै छन् । किनकि जनसङ्ख्या र टेक्नोलोजीको हिसाबले चीन धेरै अगाडि बढेको अवस्था छ । तर त्यो संकटमा जाँदा त्यहाँ अमेरिकन लगानी बढी छ । चीन संकटमा जाँदा उनीहरूको आकर्षण पनि सुनमा नै देखिन्छ । यी सबै घटनाक्रमलाई हेर्दा एकदुई हप्तामा प्रतितोला दुई लाख पुग्ने लक्ष्य देखिन्छ ।
मूल्य वृद्धि हुँदा व्यापारमा प्रभाव
अहिले नेपालभरिको स्थानीय बजारमा बाइबैंकको अवस्था आएको छ । वर्षमा एउटा फर्मले सुनचाँदीको लगभग ९–१० करोडको कारोबार गर्छ । विगत ५० सालदेखि विक्री गरेका बस्तु एकैचोटी एक लाख ९० हजारको दरमा किन्नुपर्ने अवस्था आएको छ । तर सरकारले हामीलाई हेर्ला जस्तो पनि लाग्दैन । किनकि यो समस्या विगतमा पनि थियो । मूल्य बढ्दा मानिसले खरिद भन्दा पनि विक्रीमा बढी चासो देखाउँछन् । तर अहिलेको अवस्था दुर्लभ हो । एकै दिन ८–१० हजारले मूल्य बढिरहेको छ । त्यसैले अहिले बजारमा किन्ने मान्छेको संख्या ठप्प नै छ ।
वैशाख भनेको बच्चाहरू भर्ना गर्ने, गर्जो टार्ने महिना पनि हो । यस्तो बेला पैसाका लागि पनि मान्छेहरूले सुन बेच्ने गरेका छन् । सुनको भाउ बढ्दा मानिसहरूले रमाइलो पनि मानिरहेका छन् । किनभने एउटा परिवारले विवाह गर्दा ६ देखि १० तोला सुन बनाउँछ, त्यो भनेको महिलाको सम्पत्ति हो । महिलाको अधिकारका कारण पाएको सुन हो ।
अहिले नेपालमा ठूलो मात्रामा रेमिट्यान्स भित्री रहेको । सँगै मान्छेको क्रय शक्ति बढेको छ । र धेरै मान्छेले सुनमा लगानी गरेका छन् । नेपालीहरूसँग अहिले सुन किन्नलाई पर्याप्त पैसा पनि छ । सुनको व्यवसाय फैलँदो छ । सरकारले नीति राम्रो बनाउने, प्रोत्साहन गर्ने हो । फ्रि मार्केट इकोनोमी अनुसार प्रतिस्पर्धासहितको बजारमा हामी गयौँ भने राम्रो हुन्छ । सबै ठाउँलाई मिल्ने हिसाबको नीति बनाउन आवश्यक छ ।
व्यवसायीका समस्याबारे नयाँ वर्षभन्दा अगाडि नै मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौ । सुनचाँदी आयात निर्यात गर्नका लागि ठूलो कम्पनीहरुले ल्याउनुपर्छ । भर्खर आएका कम्पनीहरुलाई दियो भने शंकास्पद कारोबारहरु हुन सक्छ । राष्ट्रको ढुकुटीसँग सम्बन्धित भएकाले १० वर्ष अनुभव भएका मान्छेहरुलाई कारोबार गर्न दिंदा कारोबार राम्रो हुनेछ ।
रोजगार बढाउन, औद्योगिक क्षेत्रका रुपमा अघि बढ्न सहज हुन्छ । छिमेकी देशहरुले प्रगती गरिरहेका छन् । भारतले २० प्रतिशत कर सुनचाँदीबाट उठाई रहेको छ । चीनले पनि करिब १७ प्रतिशतको जीडीपीमा योगदान गरिरहेको छ । नेपाललाई मात्र खुम्चाएर राख्न मिल्दैँन् । किनभने यसमा रोजगारीको सम्भावना छ । विदेश जाने युवाहरुको लागि भनेर कालीगढ तालिमको लागि सम्झौता भएको छ ।
तस्करीको माहोल
सुन तस्करी भएको खबर मिडियाहरुमा आइरहेको छ । तर हाम्रो व्यवसायका सदस्यहरू यसमा सामेल छैनन् । ०४४ सालयता यस्ता घटनामा हाम्रा सदस्यको नाम कहींकतै आएको छैन । सीप बेचेर जीवन चलिरहेकै छ । तर राष्ट्र बैंकले बनाउन लागेको कार्यविधिका सवालमा हामीले स्वतन्त्र हुनुपर्छ भनेका छौं ।
सुनचाँदी भन्ने बस्तु खुल्ला छोड्ने वा कोटामा राख्नुपर्छ भन्ने पनि छैन । कोटा राख्न हुन्न । यो संविधान विरोधी कदम हो । संविधानमा नागरिकले पनि लगानी गर्न पाउने अधिकार छ भनिएको छ तर नागरिकले सुन किन्न पाएका छैनन् । काँचो सुन व्यापारीहरूले मात्रै किन्न पाउँछ । एक वर्ष भित्रमा ४० किलो भनेर कोटा तोकियोस् । सिजन अनुसार होस् । औद्योगिक कच्चा पदार्थलाई कोटा सिस्टम राख्दा उद्योगहरूलाई समस्या परिरहेको छ ।
यो व्यवसायलाई संविधानको मर्म अनुरूप देशको राजस्व, रोजगार र समग्र मुलुकको उन्नति हुने हिसाबले हेर्नुपर्छ । नेपालमा खुल्ला सिमाना छ । नेपाल ट्रान्जिटको बाटो हो । चाहेर पनि नियन्त्रण गर्न सकिरहेको छैन । यस्तो समस्या क्यानडा र अमेरिकाको बीचमा पनि छ । खुल्ला सिमानाको समस्या समाधान गरेर कसरी काम गर्न सकिन्छ त्यसका लागि विशेषज्ञ टीम आवश्यक छ । मापदण्ड अझै आएको छैन ।
मापदण्ड आवश्यक छ । नेपाल अहिले ग्रे लिस्टमा पर्दा सुनचाँदीको क्षेत्रमा पनि असर परिरहेको छ । ग्रे लिस्टबाट निकाल्न पनि सुनचाँदीलाई नियमनसहित स्वतन्त्र छोड्नुको विकल्प छैन । हाम्रो व्यवसायी जीवनको अवरोधहरु हटाउने नीति नियम छैन । व्यापारमा प्रतिस्पर्धा गर्न पाएका छैनौ । नेपालमा सुनको सम्भावना छ । किनभने हामीसँग दुर्लभ गहनाहरू छन् । एउटा दुर्लभ गहना श्रीपेच हो । त्यो नेपालको कलाकारले बनाएको हो । त्यो हाम्रो सान हो । अरु विभिन्न प्रकारका गहनाहरू प्नि बनाएका छन् । हाम्रो सीप अन्तर्राष्टिय बजारमा बेच्न सक्छौं । सीपलाई ट्रान्सफर गर्न सक्छौ । (नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष माणिकरत्न शाक्यसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)













