विश्वासिलो नेतृत्वले मात्र कठिन काम पूरा गर्नसक्छ: मन्त्री सिंह
वि.सं.२०८२ वैशाख ७ आइतवार १७:२५
shares

सहरी विकासमन्त्री प्रकाशमान सिंहले जुनसुकै काम सम्पन्न गर्नको लागि विश्वासिलो नेतृत्वको आवश्यक पर्ने बताएका छन् ।
आइतबार काठमाडौं नेपाल परम्परा बौद्ध धर्म संघले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले ४६ सालको जनआन्दोलनमा सर्वोच्च कमाण्डर गणेशमान सिंहप्रति सबै दलहरुको विश्वास भएको कारण आन्दोलनलाई सफलतातिर लगेको स्मरण गर्दै विश्वासिलो नेतृत्व भएमा राजनीतिक, सामाजिक र धार्मिक जुनसुकै कार्यमा सफलता मिल्ने बताए ।
उनले भने,‘राम्रो काम गर्नको लागि गार्हो हुन्छ । तर त्यो कामलाई कार्यान्वयन गर्नतर्फ लग्नका लागि नेतृत्व चाँही राम्रो भयो भने र विश्वासिलो भयो भने पूरा हुन्छ । राजनीतिक रुपमा हेर्दा ०४६ सालको जनआन्दोलनमा सर्वोच्च कमाण्डर गणेशमान सिंहप्रति सबै दलहरुको विश्वास भएको कारण आन्दोलन सफल भएको हो ।’
उनले कार्यक्रममा बुद्ध जन्मभूमि लुम्बिनीमा नेपाली वास्तुकलाको अनुपम नमूना ‘लुम्बिनी बज्रयान महाविहार’ निर्माणका लागि अमूल्य कलाकृति तथा वस्तु दान प्रदान गर्नुहुने दाताहरूलाई सम्मान पत्र प्रदान गरे ।
विसं २०६८ तिर निर्माण प्रारम्भ गरिएको यस महाविहारको निर्माण स्वदेशभित्रबाट स्रोत जुटाएर निर्माण सम्पन्न गरिएको हो । महाविहार निर्माणका लागि काठमाडौँ महानगरपालिकाले चार करोड भन्दा बढी रकम आर्थिक सहयोग प्रदान गरेको थियो ।













