शिक्षामन्त्रीले दिइन् राजीनामा
वि.सं.२०८२ वैशाख ८ सोमवार १७:४४
shares

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाएकी हुन् ।
शिक्षक आन्दोलन चर्किरहेका बेला विभागीय मन्त्रीको राजीनामाले राजनीतिक तरंग ल्याएको छ।
शिक्षकहरूको आन्दोलनका माग सम्बोधन गर्न मन्त्री भट्टराईले सात बुँदे प्रस्ताव तयार गरेकी थिइन्। उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरी सोमबार नै शिक्षकहरूलाई आन्दोलन फिर्ता लिन आह्वान गर्ने तयारी थियो। तर, राजीनामाले यो प्रक्रिया प्रभावित हुने देखिएको छ।
शिक्षकहरूले सेवा-सुविधा, स्थायित्व र शिक्षासम्बन्धी नीतिगत सुधारको माग राख्दै आन्दोलन चर्काएका छन्।
मन्त्री भट्टराईको राजीनामाको कारणबारे स्पष्ट जानकारी नआए पनि शिक्षक आन्दोलनको दबाब र राजनीतिक परिस्थितिलाई जोडेर हेरिएको छ।
उनको राजीनामाले सरकारमाथि थप दबाब बढ्ने र शिक्षक आन्दोलनको समाधान प्रक्रिया जटिल बन्ने विश्लेषकहरूको भनाइ छ।













