शिक्षक आन्दोलनबारे सरकार र संसद्लाई जिम्मेवार बन्न नेता महरको आग्रह
वि.सं.२०८२ वैशाख १२ शुक्रवार १६:२१
shares

काठमाडौं । शिक्षक आन्दोलन २३ दिनसम्म जारी रहँदा पनि समाधानको कुनै सार्थक पहल नभएको भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।
कांग्रेस केन्द्रीय शिक्षा विभाग प्रमुख समेत रहेका महरले संघीय सरकार, संसद् र उच्चस्तरीय संयन्त्रलाई जिम्मेवार बन्न आग्रह गर्दै संविधानको पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा संसद् गम्भीर नहुनु दुःखद् रहेको बताए ।
संविधान जारी भएको १० वर्ष पुग्दासमेत करिब ३ सय कानुन निर्माण नहुनु गैरजिम्मेवार संसद्को परिणाम भएको उनको भनाइ छ। उनले भने, “संविधानको धारा अनुसार तीन वर्षभित्र आवश्यक कानुन बनिसक्नुपर्ने व्यवस्था थियो, तर संसद् र सांसदहरू व्यक्तिगत तथा पार्टीगत स्वार्थमा रुमलिँदा कानुनी राज्यको अवधारणाको समेत खिल्ली उडाइएको छ।”
महरले शिक्षासँग सम्बन्धित विधेयक संसद्मा थन्किनु, विगतमा शिक्षक महासंघसँग गरिएको सम्झौता कार्यान्वयनमा सरकार उदासीन रहनु र आन्दोलन चर्कँदा समेत संवेदनशील नहुनु गम्भीर समस्या भएको बताए। विज्ञप्तिमा उनले लेखेका छन्, “सरकारले जिम्मेवारीपूर्वक प्रस्तुत हुन नसक्दा २३ दिनदेखि आन्दोलन भइरहेको छ, ७० लाख विद्यार्थीको पठनपाठन ठप्प छ, ।”
यस आन्दोलनको प्रभावले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा समयमा सार्वजनिक हुनेमा शंका पैदा भएको र कक्षा १२ को परीक्षा सञ्चालनमा समेत चुनौती देखिएको महरको भनाइ छ। राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने बताएको भए पनि वातावरण सहज बन्न नसकेको उनले बताए।
महरले संसद्, सरकार र सरकार सञ्चालनमा सहयोग गर्न बनेको उच्चस्तरीय संयन्त्रलाई तत्काल गम्भीर भएर शिक्षकहरूका जायज माग सम्बोधन गर्न र शैक्षिक क्षेत्रको समस्याको दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन्।












