नारायणकाजीको प्रश्न– शिक्षकलाई व्यंग्य गर्ने प्रधानमन्त्रीको के तरिका हो ?

2.25K
shares

 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आन्दोलनरत शिक्षकहरूको माग पूरा गर्न सरकारसँग आग्रह गरेका छन् ।आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्ने क्रममा उनले २६ दिनदेखि शिक्षकहरू आन्दोलनमा रहेको बताउँदै उनीहरूका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।
शिक्षकहरूलाई पठनपाठनको लागि छिट्टै पठाउने व्यवस्था गर्न समेत सरकारसमक्ष उनले आग्रह गरे । श्रेष्ठले शिक्षकहरूका माग सम्बोधनका लागि सरकारले वार्ता नगरी प्रधानमन्त्रीले नै शिक्षकहरूप्रति व्यङ्ग्य गरेको भन्दै आक्रोश व्यक्त गरे ।‘उहाँहरूको माग नै त्यो सम्झौता कार्यान्वयन होस्, विधेयक पारित होस्, ऐन बनोस् भन्ने छ । आज सकारात्मक वार्तामार्फत त्यो सम्बोधन गर्नु त परैको कुरा हो,’ उनले भने, ‘प्रधानमन्त्री नै शिक्षकहरूलाई व्यंग्य गर्ने, शिक्षामन्त्री हुने व्यक्तिले सडकबाट ऐन बन्दैन भनेर सुरुमै आक्रमण गर्ने, यो के तरिका हो ? म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, शिक्षकहरूका माग पूरा गरिओस् र शिक्षकहरूलाई छिटो पठनपाठनका लागि पठाउने व्यवस्था गरियोस् ।’शिक्षकहरूले विगतमा भएको सम्झौता कार्यान्वयन र विधेयक पारित भई ऐन बनोस् भन्ने माग राखेको भन्दै सरकारले त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।‘लोकतन्त्रको मुख्य लक्ष्य जिम्मेवारीवोध हो, जवाफदेहिता हो । २६ दिनदेखि शिक्षकहरू आन्दोलनमा छन् । यो आन्दोलनको मुद्दाहरूलाई लिएर यसअघि पनि उहाँहरूले संघर्ष गर्नुभएको थियो,’ उनले भने, ‘हामीले समयमै शिक्षकहरूसँग वार्ता गरेर सम्झौता गरेका थियौँ । आज शिक्षकहरूले त्यो सम्झौता कार्यान्वयनको प्रक्रिया जो ऐन–विधेयक छिटो पारित गरेर हुन्छ त्यो प्रक्रिया हामीले अगाडी बढाएका थियौँ । तर, हाम्रो सरकार रहेन ।’