१६ दिनदेखि म्यानमारको भूकम्प प्रभावित शहरमा डा.गोविन्द केसी

1K
shares

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसी यतिबेला भूकम्प प्रभावित म्यानमारको माण्डले शहरमा छन् । यो म्यानमारको दोस्रो ठूलो शहर हो । उहाँका सहयोगीले दिएको जानकारी अनुसार विगत दुई सातादेखि डा.केसीले माण्डले अर्थोपेडिक अस्पताल र माण्डले जनरल अस्पतालमा सेवा दिइरहेका छन् । २०२५ मार्च २८ मा म्यानमारमा ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो । यो भूकम्पले सागाइन र माण्डले प्रदेशका साथै म्यानमारको राजधानी नेपितोमा ठूलो क्षति पु¥याएको छ । म्यानमार सरकारले सार्वजनिक गरेको विववरणअनुसार भूकम्पमा परी ज्यान गुमाउनेको संख्या करिब चार छ । अझै धेरै व्यक्तिहरू हराइरहेको विभिन्न संघ, संस्थाहरूले रिपोर्ट निकालिरहेका छन् । हाडजोर्नी विशेषज्ञ डा.केसी मानवीय सहयोगका लागि भूकम्प प्रभावित क्षेत्रमा पुगेको उहाँका सहयोगीले जानकारी दिएका छन् । डा.केसीले भूकम्पका घाइतेहरूको उपचारमा बिगत १६ दिनदेखि खटिएका छन् ।बिरामीको उपचारमा भाषिक समस्या भएपनि म्यानमारका चिकित्सक तथा विद्यार्थीहरूले अनुवादकको काम गरी डा.केसीलाई सहयोग गरेका थिए । केसी आफ्नै खर्चमा उपचारमा खटिएको उहाँका सहयोगीले बताएका छन् ।