अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?
वि.सं.२०८२ वैशाख १६ मंगलवार १५:०३
shares

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिबाट स्वीकृत भइसकेको श्वेतपत्र अन्तिम समय रोकिएको छ । मंगलबार सार्वजनिक गर्ने तयारी अनुरुप सोमबार ऊर्जामन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको सञ्चालक समिति बैठकले सर्वसम्मत रूपमा स्वीकृत गरी दोस्रो पटक परिमार्जन गरी सार्वजनिक गर्ने भनिएको श्वेतपत्र अनिश्चितकालका लागि रोकिएको छ । सञ्चालक समितिमा प्रतिवेदनमाथि व्यापक छलफल भएर स्वीकृत भए पनि तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले प्रस्तुत गरेको तथ्यलाई तोडमोड गरेर सार्वजनिक गर्ने तयारीमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य थिए ।
प्राधिकरण स्रोतका अनुसार तत्कालीन कार्यकारी निर्देशक कुलमानले बनाएको प्रतिवेदनलाई तोडमोड गर्न नसक्ने भएपछि प्राविधिक कारण देखाएर रोकिएको छ ।
घिसिङले कागजी नाफा देखाएको भन्ने कुरा प्राधिकरणले बनाएको प्रतिवेदनले प्रस्ट पार्न नसकेको भन्दै ऊर्जामन्त्री खड्काले तत्कालका लागि स्थगित गर्न निर्देशन दिएको स्रोतले भनाइ छ ।
मन्त्री खड्काले कागजी नाफा देखाउने गरी श्वेतपत्र ल्याउन खोजे पनि तत्कालीन कार्यकारी निर्देशक घिसिङसँगै उच्च व्यवस्थापनमा रहेका कर्मचारीको मिलेमतो पुष्टि नहुने गरी श्वेतपत्र आएको भन्दै तत्कालका लागि परिमार्जन गर्न निर्देशन दिएको स्रोतले जनाएको छ ।
तत्कालीन कार्यकारी निर्देशकले ल्याएको प्राधिकरणको वित्तीय अवस्था महालेखाको प्रतिवेदनको आधारमा भएको र प्राधिकरणका कर्मचारीले आफू फस्ने अवस्था आउने भन्दै प्राधिकरणको नाफा र अन्य वित्तीय अवस्थाबारे पुरानै विवरण ल्याएपछि मन्त्री खड्काले रोकेको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।
ऊर्जा मन्त्रालयले गरिरहेको डीडीए र प्राधिकरणले तयार पारेको श्वेतपत्र (प्रतिवेदन) मेल नखाएकाले आगामी दिनमा थप समस्या पर्ने भन्दै अध्यक्षको निर्देशनमा श्वेतपत्र रोकिएको देखिन्छ ।
प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले भने मन्त्रीको निर्देशन भन्दा पनि प्राविधिक कारणले श्वेतपत्र रोकिएको बताए । उनले सोमबार प्राधिकरणको सञ्चालक समितिले पारित गरेर मंगलबार पत्रकार सम्मेलन गरी पारित गर्ने तयारी गरे पनि प्राविधिक समस्याले रोकिएको दाबी गरे ।
उनले भने, ‘आज सार्वजनिक गर्ने भनिएको श्वेतपत्र प्राविधिक कारणले रोकिएको हो । अन्य कुनै कारण होइन । श्वेतपत्र सार्वजनिक गर्ने समयमा प्राविधिक समस्या देखिएपछि रोकिएको हो ।’
प्राधिकरणले प्राविधिक समस्या भने पनि ऊर्जामन्त्री खड्का र कार्यकारी निर्देशक शाक्यले तत्कालीन कार्यकारी निर्देशकले देखाएको नाफालाई कागजी प्रमाणित गर्न नसक्दा रोकिएको देखिन्छ ।
ऊर्जामन्त्री खड्काले वार्षिक प्रतिवेदनमा आफैँले हस्ताक्षर गरेको नाफा कुलमानलाई हटाउनका लागि संसदको रोष्टममा उभिएर ‘कुलमानले प्राधिकरणको कागजी नाफा देखाएको’ भन्दै आएका थिए ।
तर प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्रमा समेत कुलमानले देखाएको नाफा उल्लेख गरिएको थियो । उक्त नाफालाई नै सोमबार सञ्चालक समितिबाट पारित भएको थियो तर मंगलबार एक्कासी श्वेतपत्र सार्वजनिक गर्ने कार्यक्रम रोकिएको हो ।
प्राधिकरणले बनाएको श्वेतपत्रमा घिसिङले देखाएको कागजी नाफाका कुराहरू आउन नसक्दा रोकिएको स्रोतको दाबी छ । स्रोतका अनुसार प्राधिकरणको श्वेतपत्र जुन उद्देश्यले सार्वजनिक गर्ने भनिएको थियो, त्यो उद्देश्य पूरा नहुने भएपछि रोकिएको छ ।
प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमानले आफू पदमा रहँदा सार्वजनिक गरेको विवरण वास्तविक नै रहेको दाबी गरेका छन् । उनले ऊर्जामन्त्री खड्काले बारम्बार दिएका अभिव्यक्ति गलत भएको विषय श्वेतपत्रमा उल्लेख गरिएको कुरालाई सोमबार प्राधिकरण सञ्चालक समितिको बैठकले स्वीकृत गरेसँगै पुष्टि भएको बताए । उनले भने, ‘मन्त्रीले मलाई गलत देखाउन हरसम्भव प्रयास गरेका थिए तर, महालेखा परीक्षकको कार्यालयले अडिट गरेको तथ्याङ्कलाई म्यानुपुलेसन गर्न सक्ने अवस्था छैन ।’
कुलमानले आफूलाई गलत देखाउने प्रयासमा ल्याउन लागेको श्वेतपत्रमा ५ अर्ब २६ करोडको नोक्सानी देखाउन खोजिएको तर सम्भव नभएको प्रस्ट पारे । उनले प्राधिकरणको कुल सञ्चित नाफा ४६ अर्ब ४७ करोड नै रहेको बताए ।
उनले विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८१÷०८२ को ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ बराबर नाफा कमाएको दाबी गरे । उनले प्राधिकरणले तथ्यलाई तोडमोड गर्न खाजे पनि फागुनसम्म ११ अर्ब ३६ करोड नै नाफा रहेको दाबी गरे ।
तर रातोपाटीलाई प्राप्त सार्वजनिक हुन नकसकेको श्वेतपत्रमा प्राधिकरणले २०८०÷०८१ सम्म ४६ अर्ब ४७ करोड रुपैयाँ सञ्चित नाफा गरेको उल्लेख छ । चालु आर्थिक वर्षको फागुनसम्म मात्र ९ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन भएको देखाइएको छ । तर, कर प्रयोजनका लागि आयकर ऐनअन्तर्गत विगत १२ वर्षको नोक्सानी समायोजन र उच्च ह्रासकट्टी दाबी गर्दा ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानी देखाइएको छ ।त्यस्तै, प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ । स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब रुपैयाँ छ, जसमा पुनर्मूल्याङ्कनबाट ९९ अर्ब ४६ करोड रुपैयाँ थपिएको छ । निर्माणाधीन आयोजनामात्र २ खर्ब २० अर्ब रुपैयाँ बराबरको छ ।
कुलमानले प्राधिकरणले देखाउन खाजेको ५ अर्ब २६ करोड नोक्सनी गलत तथ्य भएको बताए । उनले प्राधिकरणको चार वर्षदेखि फुल अडिट हुन बाँकी रहेको बताए ।













