प्रविधिको विकासले लेखापढी क्षेत्रमा थप चुनौतीहरू देखिएका छन् : सभामुख
वि.सं.२०८२ वैशाख १८ बिहीवार १८:५२
shares

ललितपुर । सभामुख देवराज घिमिरेले प्रविधिको विकाससँगै लेखापढी क्षेत्रमा थप चुनौतीहरू देखिएको बताएका छन् ।
बिहीबार ललितपुरमा नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको नवौँ राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले पछिल्लो समय एआइको विकास भइरहेको कारण लेखापढीलाई पनि त्यस ढङ्गबाट लैजानको लागि आवश्यक कानूनी प्रबन्ध र त्यसलाई व्यवहारिक रुपबाट कसरी लैजाने भन्ने कुरा चुनौतीपूर्ण देखिएको बताए ।
उनले भने, ‘देशमा धेरै खालका समस्याहरु छन् । समस्या समाधान गर्ने सन्दर्भमा केही चुनौतीहरु छन् । ती चुनौतीभित्र अहिले विकास भइरहेको प्रविधिबाट गर्ने कामहरु लेखापढीसँगपनि सम्बन्धित छ । अझैपनि मुलुकमा ठूलो सङ्ख्या सामान्य लेखपढ गर्न सक्दैन् । विश्व एआइको अवस्थामा पुग्दा लेखापढीलाई पनि त्यस ढङ्गबाट लैजानको लागि आवश्यक कानूनी प्रबन्ध कसरी गर्ने त्यसलाई व्यवहारिक रुपबाट कसरी लैजाने र जनताको जीवनलाई गाँसेर कामहरूलाई कसरी प्रभावकारी बनाउने यो विषय चुनौततिको रूपमा रहेको छ ।’
त्यस्तै उनले लेखापढीको क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने पनि उनले प्रतिबद्धता जनाए ।













