संविधान संशोधन गरेर अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्नुपर्ने

845
shares

काठमाडौं । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधव चम्लागाईंले अपाङ्गता भएका व्यक्तिको अनिवार्य राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्न संविधान संशोधनको माग गरेका छन् । संघको १७औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देशमार्फत उनले संविधान संशोधन गरेर भए पनि अपाङ्गता भएका व्यक्तिको राजनीतिक अधिकार सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।

संविधान, ऐन र नीतिहरूमा समावेश गरिएका अधिकारहरू व्यवहारमा लागू नभएसम्म समता र न्यायको अनुभूति अधुरो रहन्छ । त्यसैले अबको यात्रामा अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक अधिकार सुनिश्चित गर्न संविधानमा संशोधन गरी स्थानीयदेखि संघसम्म राज्यका हरेक तहमा अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्ने उनको भनाइ छ ।

उनले अपाङ्गता भएका व्यक्तिको संघर्ष, जनआन्दोलनमा भूमिका र सामाजिक रुपान्तरणमा योगदान स्मरण गर्दै अबको प्राथमिकता रोजगारी, सीप, डिजिटल पहुँच, सहायक उपकरणको पहुँच र अपाङ्गमैत्री पूर्वाधार निर्माण रहेको बताए ।

गम्भीर अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा सुरु गर्नुपर्ने र अन्तर्राष्ट्रिय महासन्धिको कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्ने उनले जोड दिए । उनले आगामी दिनहरूमा, संघ अझ एकीकृत, दूरदर्शी र परिणाममुखी अभियानको नेतृत्व गर्दै अपाङ्गता भएका व्यक्तिहरूको आवाजलाई संविधान र शासनको मूल प्रवाहमा स्थापित गर्न प्रतिबद्ध रहने पनि उल्लेख गरे ।

मितिः २०८२ बैशाख २१ गते
१७औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश

आज, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको १७औं स्थापना दिवसको पावन अवसरमा, म देशभरिका सम्पूर्ण अपाङ्गता भएका दाजुभाइ तथा दिदीबहिनीहरू, संघका समर्पित कार्यकर्ता, शुभचिन्तकहरू र लोकतान्त्रिक मूल्यमा आस्था राख्ने सम्पूर्ण नेपाली जनसमुदायमा हार्दिक शुभकामना प्रकट गर्न चाहन्छु ।

यो अवसर केवल संघको स्थापनाको स्मरण मात्र होइन, अपाङ्गता भएका व्यक्तिहरूको संघर्ष, साहस र संकल्पको उत्सव पनि हो । २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन, जसले मुलुकलाई लोकतन्त्रको नयाँ यात्रामा डो¥यायो, त्यस आन्दोलनमा अपाङ्गता भएका व्यक्तिहरूको भूमिका अविस्मरणीय रह्यो। आन्दोलनका अग्रमोर्चामा ह्वीलचेयर तथा विभिन्न सहायक सामग्रीको भरमा लडेका ती दिनहरू हाम्रो संस्था स्थापनाको आत्मा थिए। परिवर्तनको त्यो यात्रामा हामी केवल सहभागी मात्र होइनौं, परिवर्तनका प्रेरक थियौं ।

१७ वर्षअघि जनआन्दोलनको जगमा स्थापित यस संघले विगतको यात्रा राजनीतिक मात्र नभई सामाजिक र सांस्कृतिक रुपान्तरणको पनि हो भन्ने विश्वासका साथ अघि बढ्दै आएको छ । हाम्रो उद्देश्य केवल पहुँचको माग होइन, सम्मानजनक रूपमा राज्यको हरेक संरचनामा, नीतिनिर्माण र कार्यान्वयनमा अपाङ्गता भएका व्यक्तिहरूको अनिवार्य, प्रभावकारी र निर्णयकारी सहभागिता सुनिश्चित गर्नु हो ।

संविधान, ऐन र नीतिहरूमा समावेश गरिएका अधिकारहरू व्यवहारमा लागू नभएसम्म समता र न्यायको अनुभूति अधुरो रहन्छ। त्यसैले अबको यात्रामा अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक अधिकार सुनिश्चित गर्न संविधानमा संशोधन गरी स्थानीयदेखि संघसम्म राज्यका हरेक तहमा अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्छ भन्ने हाम्रो दृढ धारणा हो। यसका लागि हामी राजनीतिक नेतृत्वलाई लगातार झकझकाउने, आवश्यक पहल र संवादमार्फत सहकार्यका ढोका खोल्नेछौँ, र परिवर्तनको आवाज बुलन्द बनाउनेछौँ ।

आजको सन्दर्भमा हामी केवल राजनीतिक सहभागितामा सीमित छैनौं । अबको मुद्दा आर्थिक सशक्तिकरण, रोजगारी, सीप विकास, डिजिटल पहुँच, अपाङ्गमैत्री संरचनाको निर्माण र सहायक उपकरणहरूको सर्वसुलभ उपलब्धता जस्ता विषयहरू प्राथमिकतामा रहनेछन् । बीमा प्रणालीमार्फत विलचेयर, कृत्रिम खुट्टा, क्यालिपर जस्ता सहायक सामग्रीहरू सहज, गुणस्तरीय र सम्मानजनक तरिकाले उपलब्ध गराउनुपर्ने हाम्रो स्पष्ट धारणा हो । साथै, युनिभर्सल डिजाइनको सिद्धान्तअनुसार सार्वजनिक पूर्वाधारहरू पहुँचयुक्त बनाउन अबको कार्ययोजना स्पष्ट, समयबद्ध र दायित्वमुखी हुनुपर्छ ।

त्यस्तै, गम्भीर श्रेणीका अपाङ्गता भएका व्यक्तिहरूका लागि व्यक्तिगत सहयोगी (Personal Assistant) सेवा तत्काल सुरु गर्नुपर्नेछ। गरिमा, आत्मनिर्भरता र जीवनको गुणस्तर सुधार गर्न यो सेवा अत्यावश्यक बनिसकेको छ, र यसतर्फ सरकार गम्भीर रुपमा उन्मुख हुनुपर्छ ।

नेपालले अनुमोदन गरेका अपाङ्गता सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरू, विशेषतः संयुक्त राष्ट्रसंघीय अपाङ्गता अधिकार महासन्धि (CRPD) लगायतका विविध प्रतिबद्धता र घोषणाहरूको प्रभावकारी कार्यान्वयनमा सरकार जिम्मेवार बन्नुपर्छ। ती प्रतिबद्धता कागजमा सीमित नरही व्यवहारमा लागू हुनुपर्छ, जसका लागि हाम्रो संघ निरन्तर आवाज उठाइरहनेछ ।

आगामी दिनहरूमा, संघ अझ एकीकृत, दूरदर्शी र परिणाममुखी अभियानको नेतृत्व गर्दै अपाङ्गता भएका व्यक्तिहरूको आवाजलाई संविधान र शासनको मूल प्रवाहमा स्थापित गर्न प्रतिबद्ध रहनेछ। हामीलाई थाहा छ–अधिकार मागेर होइन, सङ्गठित भएर, अडानका साथ, रणनीतिगत पहलमार्फत प्राप्त गरिन्छ। यसमा हामी पूर्ण सचेत छौँ ।

अन्त्यमा, म सबै अपाङ्गता भएका साथीहरूलाई लोकतान्त्रिक मूल्य र परिवर्तनको यात्रामा गोलबद्ध भएर अघि बढ्न हार्दिक आह्वान गर्दछु । यो पवित्र आन्दोलनमा तपाईंको साथ, सहभागिता र विश्वास नै हाम्रो प्रेरणा हो ।

जय लोकतन्त्र । जय समावेशिता । जय नेपाल ।
माधव चम्लागाईं
अध्यक्ष