सहकारी ठगी प्रकरण : कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

2.24K
shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राई १० लाख धरौटीमा छुट्ने भएकी छन् ।

उनलाई जिलला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोपमा सांसद राईलाई पक्राउ गरिएको थियो । बुधबार बयान र थुनछेक बहस सकिएपछि उनलाई धरौटीमा छाड्न आदेश भएको हो ।

सांसद राई कुनै समय उक्त सहकारीको सहसचिव समेत थिइन् । उनी सञ्चालक समितिमा रहेको अवधिमा करिब साढे २ करोड रुपैयाँ अपचलन भएको खुलेको छ ।

यसअघि यो सहकारी ठगी प्रकरणमा २१ पुसमा ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर भएको थियो ।

त्यतिबेला सांसद राईलाई उन्मुक्ति दिँदै मुद्दा दर्ता भएको थियो । सांसद राईलाई उन्मुक्ति दिएको भन्दै आलोचना भएपछि १३ वैशाखमा प्रहरीले कपनबाट सांसद राईलाई पक्राउ गरेको थियो ।

संगठित अपराधको कसुरमा ६० दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिने व्यवस्था भए पनि सांसद राईको हकमा भने १७ दिनमै अदालतमा मुद्दा दर्ता भएको छ ।