तीनकुने प्रकरणः अनुसन्धान सकियो, १०८ जनालाई प्रतिवादी बनाउन राय

1.56K
shares

काठमाडौं । तीनकुने प्रकरणमा प्रहरीले सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा राजावादी आन्दोलनका ‘जनकमान्डर’ दुर्गा प्रसाईंलाई कर्तव्यज्यानसहित ५ कसुरमा मुद्दा चलाउन राय दिइएको छ ।

दुर्गाविरुद्ध कर्तव्य ज्यानका साथै ज्यानमार्ने उद्योग, आपराधिक उपद्रव, राज्यविरुद्धको अपराध, संगठित अपराधमा मुद्दा चलाउन प्रहरीले भनेको छ।

यस्तै सोही घटनामा अगुवा भूमिका खेलेको निष्कर्षसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरुद्ध तीन कसुरमा मुद्दा चलायन प्रहरीले राय दिएको छ।

प्रहरीले मिश्र र राणालाई राज्यविरुद्धको मुद्दा, आपराधिक उपद्रव र कर्तव्यज्यान उद्योगमा मुद्दा चलाउन भनेको छ।

प्रहरीले उनीहरूसहित १०८ जनालाई प्रतिवादी बनाउने रायसहितको प्रतिवेदन बुझाएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।