सेवा निवृत्त कर्मचारीको योगदानलाई राज्यले अवमूल्यन गरेको गुनासो

2.37K
shares

काठमाडौं । सेवा निवृत्त कर्मचारीहरुलाई राज्यले विभेदकारी व्यवहार गरेको भन्दै सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वहालवाला कर्मचारीहरुलाई पाँच हजार भत्ता दिएर आफूहरुलाई वेवास्ता गरेको गुनासोसमेत गरेका हुन् ।

नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठले सेवा निवृत्तहरुले गर्ने संघर्षमा आफूहरुको ऐक्यबद्धता रहेको बताएका छन् । श्रेष्ठले सरकारले सेवा निवृत्त राष्ट्र सेवकहरुको सेवासुविधा नबढाइ उपेक्षा गरेमा आफूहरुले कडा संघर्ष गर्ने चेतावनी पनि दिए ।

त्यसैगरी सेवा निवृत्त राष्ट्रिय संगठन नेपालका अध्यक्ष बाबुराम पाण्डेले नियम अनुसार हरेक तीन÷तीन वर्षमा तलब वृद्धि हुनुपर्नेमा चार वर्ष वितिसक्दा पनि सरकारले तलब वृद्धि नगर्नु दुःखद भएको बताएका छन् ।

वहालवाला कर्मचारीहरुलाई थप भत्ता दिएर ‘ललिपप’ देखाएको बताउँदै पाण्डेले भने, ‘निवृत्त राष्ट्रसेवकको उर्जाशील जीवनभरी राष्ट्रलाई गरेको योगदानको अवमूल्यन गरेको छ, यदि समयमै हाम्रो पेन्सन वृद्धि वा विशेष व्यवस्था नगरे हामी संघर्ष गर्न बाध्य हुनेछौं ।’

सेवा निवृत्त राष्ट्रिय संगठन नेपालका महासचिव विनोद थापाले निवृत्त राष्ट्र सेवक कर्मचारीहरुको सेवा–सुविधा नियोजितरुपमा वृद्धि नगरिएको भन्दै त्यस विरुद्ध आफूहरु संघर्ष गर्न पछि नपर्ने चेतावनी दिए ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका संस्थापक सदस्य तेज प्रसाद पुडासैनीले कर्मचारीहरुलाई वेवास्ता गर्ने तर मन्त्री, सांसद तथा उच्चपदस्थहरुको सेवासुविधा बढाउने सरकार गैर जिम्मेवार भएको आरोप लगाए ।
पत्रकार सम्मेलनमा सेवा निवृत्त राष्ट्रिय संगठनका सल्लाहकार बासुदेव हुमागाई, गंगाबहादुर भूजेल, उपाध्यक्षहरु मित्रप्रसाद खतिवडा र रमा घिमिरे, कोषाध्यक्ष बयान बहादुर कार्कीलगायत कार्यसमिति सदस्यहरु समेतको उपस्थिति रहेको थियो ।