विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ : गृहमन्त्री लेखक

1.95K
shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । बुधबार सामाखुसीस्थित नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन् ।

‘जुन सुकै बेला जेसुकै हुन सक्छ । त्यो मानसिकताका साथ बस्नुपर्छ । मनसुनजन्य विपद्को पूर्वानुमान हुन्छ । तर, भुकम्प र आगलागीको पूर्वानुमान हुँदैन,’ उनले भने, ‘हामी मनसुनको पूर्वसन्ध्यामा छौँ । मनसुन सक्रिय भएपछि बाढी र पहिरो आउँछ । त्यसको पूर्वतयारीमा हामी तयार रहनुपर्छ ।’ विपद्को व्यवस्थापन पनि नेपालको जिम्मेवारी दिएको भन्दै चौबिसै घण्टा तयार रहन गृहमन्त्री लेखकले निर्देशन दिए ।

‘विपद्को जोखिम न्यनीकरण र व्यवस्थापन नेपाल प्रहरीको जिम्मेवारी हो भनेर कानुनमै उल्लेख छ । नेपाल प्रहरीको उपस्थिति नागरिक तहमा विशाल छ । मानिसमा प्रहरीप्रति आशा र भरोसा बढ्दो छ । विपद्मा मानिसले सबैभन्दा पहिलो प्रहरी नै खोज्छ । हामीले जनताको भावनालाई सेवाको भावले सम्बोधन गर्नुपर्छ,’ उनले भने ।

अहिले बाढी-पहिलो र डुवानको जोखिम न्युनीकरण र व्यवस्थापनको तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ थियो । मनसुनजन्य विपद्का लागि आजदेखि तयार हुनुपर्यो । समयमै पूर्वसूचना गराउन र उद्धारका लागि तयार अवस्थामा बस्न जरुरी छ । जेष्ठ २८ गतेबाट मनसुन सक्रिय हुने अनुमान छ ।