इरानले गर्यो अमेरिकी सेना माथि आक्रमण: तेस्रो विश्वयुद्धतिर धकेलियो विश्व

3.08K
shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गरेको केहीबेरमा इरानले इजरायलतर्फ मिसाइल प्रहार गरेको छ । इजरायली सेनाले इरानबाट इजरायलतर्फ मिसाइल प्रहार भएको जनाएको छ, जसले गर्दा साइरन बजाइयो र हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको हो ।

इरानले इजरायलतर्फ मिसाइल प्रहार गरेपछि इजरायलका विभिन्न क्षेत्रहरूमा साइरन बजाइनुको साथै हवाई प्रतिरक्षा प्रणाली पनि सक्रिय गरिएको इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)ले जनाएको छ। हाल इजरायली वायुसेनाले आवश्यक स्थानहरूमा मिसाइल अवरुद्ध गर्न र खतरा न्यूनीकरण गर्न सक्रिय रूपमा कारबाही गरिरहेको छ। यो नयाँ प्रहारले पुनः तनाव चर्किने संकेत दिएको बीबीसीले उल्लेख गरेको छ।

केही घण्टा अघि इरानी विदेशमन्त्री अब्बास अराघ्चीले इजरायलले बिहान ४ बजेसम्म आक्रमण रोक्ने हो भने इरानले पनि जवाफी कारबाही नगर्ने बताएका थिए । त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबिच “पूर्ण र सम्पूर्ण” युद्ध विराममा सहमति भएको दाबी गरेका थिए । ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्ध विराम अबको लगभग ६ घण्टापछि सुरु हुने बताए पनि दुई देशबिचको तनाव थप चुलिएको छ ।

इरानले सोमबार राति कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डामा पनि मिसाइल आक्रमण गरेको थियो । उक्त आक्रमण अमेरिकाद्वारा इरानका आणविक केन्द्रमा गरिएको बमबारीको बदला स्वरूप भएको जनाइएको छ । यस हमलापछि मध्यपूर्वका अस्थिर क्षेत्रको तनाव झन् बढ्न सक्ने आकलन गरिएको छ । आक्रमणको घोषणा इरानी सरकारी टेलिभिजनमार्फत गरिएको थियो, जहाँ सैन्य संगीतको पृष्ठभूमिमा ’अमेरिकाको आक्रमणको विरुद्धमा शक्तिशाली र सफल जवाफ’ भनी स्क्रिनमा देखाइएको थियो ।

आक्रमणको घोषणापछि हवाइ मार्ग बन्द गरेको केहीबेरमै दोहास्थित अल उदीद हवाइ अड्डामा हमला भएको कतारी अधिकारीहरुले जनाएका छन् । यसैबीच कतारले दोहामा भएको आक्रमणको निन्दा गरेको छ । तर मिसाइल सफलतापूर्वक निस्क्रिय पारिएको र कुनै पनि मानवीय क्षति नभएको सरकारी दाबी छ । कतारी अधिकारीहरूले हालसम्म आफ्ना हवाई क्षेत्र सुरक्षित रहेको जनाएका छन् । ०००