संस्कृत विश्वकै सम्पत्ति बन्न पुगिसक्यो : राष्ट्रपति पौडेल
वि.सं.२०८२ असार १२ बिहीवार १८:०६
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषा नेपाल र भारतको मात्र नभई अहिले विश्वकै सांस्कृतिक सम्पत्ति बनिसकेको बताएका छन्।
काठमाडौंमा आयोजित विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै उनले संस्कृतको प्रभाव अब दक्षिण एशियासमेत पार गरी विश्वव्यापी बनिसकेको उल्लेख गरे।
राष्ट्रपतिका अनुसार कम्प्युटर र कृत्रिम बुद्धिमत्तामा सबै संस्कृतको प्रयोगले यसको भविष्य उज्यालो देखिएको छ। उनले उपनिषद्को शिक्षालाई उद्धृत गर्दै आजको अशान्त संसारमा शान्ति, करुणा र सहअस्तित्वका लागि संस्कृत वाङ्मयबाट प्रेरणा लिनुपर्ने बताए।
संस्कृतको संरक्षण र प्रवर्द्धनमा नेपालले प्रयास गरे पनि त्यो अझै अपर्याप्त रहेको भन्दै पौडेलले सहकार्यको आवश्यकता औंल्याए। साथै, उनले संस्कृतलाई जनबोलीको भाषा बनाउनु आवश्यक रहेको धारणा राखे।
नेपालको प्राचीन वैदिक इतिहास, महर्षिहरूको तपोभूमि तथा संस्कृत ग्रन्थहरूको रचना स्थलका रूपमा परिचय दिँदै उनले नेपाललाई संस्कृतको उर्वरभूमि भने। लिच्छविकालदेखि शाहकालसम्म संस्कृतको निरन्तर प्रयोगले यसको ऐतिहासिकता प्रमाणित हुने उनको भनाइ थियो।












