हैदराबाद चोरी प्रकरणमा अनुसन्धान गर्दै भारतीय प्रहरी पुनः काठमाडौंमा
वि.सं.२०८२ असार १२ बिहीवार १८:३७
shares

काठमाडौं । तेलङ्गाना राज्यको हैदराबादमा भएको चोरी प्रकरणमा संलग्न नेपाली नागरिकको खोजी गर्दै भारतीय प्रहरी अधिकारीहरूको टोली विना आधिकारिक समन्वय काठमाडौं पुगेको खुलासा भएको छ।
डीएसपी जसवन्त सिंह नेतृत्वको चार सदस्यीय टोली अनौपचारिक रूपमा करिब एक साताअघि नेपाल प्रवेश गरेको थियो।
टोलीले दैलेखको आठबिसकोटबाट काठमाडौंसम्म आरोपीको खोजी गरेको र काठमाडौंमा केही व्यक्तिसँग सोधपुछसमेत गरेको खुलिएको छ। नेपाल प्रहरीले संदेहका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरे पनि उनीहरू बर्दी वा हतियारबिना सूचना संकलनका लागि आएको देखिएको बताइएको छ।
यसअघि पनि पञ्जाब प्रहरीले बिना अनुमति काठमाडौं आएकाले पक्राउ परेको घटनालाई लिएर विवाद भएको थियो। त्यसपछि भारतको गृह मन्त्रालयले विदेशी मुलुकमा अनुसन्धान गर्नुअघि पूर्वस्वीकृति अनिवार्य गर्ने निर्देशिका जारी गरिसकेको छ।
यस पटकको टोलीले पनि काठमाडौंस्थित भारतीय दूतावाससँग कुनै समन्वय नगरेको पुष्टि भएको छ। कूटनीतिक स्तरमा यो विषय फेरि चासोको केन्द्र बनेको छ।











