स्वीकृति पाए पनि सिनोभ्याक खोप अझै नष्ट हुन सकेन
वि.सं.२०८२ असार १२ बिहीवार १८:५४
shares

काठमाडौँ : चार वर्षदेखि कोभिडविरुद्धको चिनियाँ खोप ४० लाख डोज सिनोभ्याक बेवारिसे अवस्था रहेको छ।
उत्पादित मितिदेखि २ वर्षभित्र लगाइसक्नुपर्ने उक्त खोप चीन सरकारको अनुदानमा २०७८ चैत १२ मा ३५ लाख र चैत १४ मा पाँच लाख गरी ४० लाख मात्रा खोप नेपाल भित्रिएको थियो।
विज्ञहरूले उक्त खोप नल्याउन सुझाव दिए पनि शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै चीन सरकारले सहयोग खोप अनुदान दिने घोषणा गरेको हुँदा उक्त खोप नेपालले स्विकारेर ल्याउन दबाब दिएपछि उक्त खोप २०७८ चैतमा नेपाल ल्याइएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका अनुसार यो खोप लगाइसक्नुपर्ने अन्तिम मिति सन् २०२३ डिसेम्बरसम्म मात्रै थियो। यो अवधिमा प्रयोग नभएको उक्त खोप अहिलेसम्म नष्ट गर्न नसक्दा ४ वर्षदेखि केन्द्रीय भण्डारण कक्षमा बेवारिसे अवस्थामा रहेको छ।
सिनोभ्याक खोप नेपालमा ल्याइएका वेला धेरै नेपालीले कोभिडविरुद्धको खोप लगाइसकिएको र यो खोप दोस्रो डोज तथा बुस्टर डोजको रूपमा प्रयोग गर्न नमिल्ने हुँदा प्रयोग नगर्न डब्लुएचओले सुझाव दिएपछि उक्त खोप लगाउने व्यक्ति नेपालमा नभएकाले खोप अन्य देशलाई पठाउन वा चीन फिर्ता गर्न दुई वर्षअघि नै खोप सल्लाहकार समितिले निर्णय गरेको थियो।
खोप उत्पादन गरेकै कम्पनीले उक्त खोप लैजाने इच्छा नदेखाएको र यही पनि हालसम्म (डिस्पोज)नष्ट गर्न नसकिएको हुँदा बेवारिसे अवस्थामा रहन पुगेको हो।
तर स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाले भने अब छिट्टै उक्त खोप डिस्पोज गरिने बताएको छ। आपूर्ति शाखा प्रमुख दयाकृष्ण पन्तले भने ‘सिनोभ्याक खोप नष्ट गर्न सबैखालको कार्यविधि बनेर स्वीकृत भइसकेको छ अब नष्ट गर्न मिल्ने बाटो खुलेको छ, यही आर्थिक वर्षभित्र केही खोप नष्ट गरिन्छ होला।
कसरी नष्ट गरिन्छ यति धेरै खोप ?
प्रयोगै नगरी यति धेरै मात्रामा खोप नष्ट गर्नुपर्ने अवस्था सम्भवतः नेपालमा पहिलोपल्ट आएको हो। त्यस कारण अब यो खोप कसरी नष्ट गर्ने भन्नेमा विभाग अलमलमा रहेकोमा अब सबैखालको तयारी भएको आपूर्ति शाखा प्रमुख पन्तको भनाइ छ।
उनका अनुसार सरोकारवालाको सल्लाहमा विभागअन्तर्गतकै वातावरणीय स्वास्थ्य एवं स्वास्थ्यजन्य फोहर व्यवस्थापन शाखासँग समन्वय गरी खोप नष्ट गरिने भएको हो।
धेरै मात्रा रहेको खोप नष्ट गर्न सुरक्षानिकायसँगको सहभागितामा मुचुल्का उठाई माइन्यूट गरेपछि मात्रै नष्ट गर्न मिल्ने प्रावधान रहेको व्यवस्थापन महाशाखाले जनाएको छ।
उक्त खोप काठमाडौंको कुन एक ठाउँमा नष्ट गर्ने योजना भएको समेत आपूर्ति शाखाले जनाएको छ। आपूर्ति शाखा प्रमुख पन्तले भने‚ ‘उक्त खोप काठमाडौँकै कुनै एक ठाउँमा नष्ट गर्ने तयारी छ तर आर्थिक स्रोत नपुग्दा यही आर्थिक वर्षमा सबै खोप नष्ट गर्न भने सकिन्छ जस्तो छैन। त्यसैले केही खोप यही आवमा नष्ट गर्ने र बाँकी रहेको अर्को आवमा गर्ने गरी तयारी गरेका छौँ’।’
चालु आवमा उक्त खोप नष्ट गर्न जम्मा ३ लाख ५० हजार मात्रै छुट्याइएको उनले बताए।
धेरै मात्राको उक्त खोप लामो समयसम्म केन्द्रीय भण्डार कक्षमा थन्किएर बस्दा नियमित रूपमा प्रयोग गरिने अन्य खोप भण्डारण गर्न ठाउँ अपुग भइरहेको हुँदा विभागअन्तर्गतको आपूर्ति शाखाले छिटोभन्दा छिटो उक्त खोप नष्ट गर्न चाहेको छ।












