फुटबलर राजुकाजी र भलिबलकी अरुणा शाही सम्मानित

2.02K
shares

काठमाडौँ  : नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान राजुकाजी शाक्य र नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही सम्मानित भएका छन्।

शरदचन्द्र शाह स्मृति फाउण्डेशनले शुक्रवार कार्यक्रम आयोजना गरी पूर्वफुटबलर शाक्य र नेपाली महिला टोलीकी कप्तान अरुणा शाहीलाई सम्मानित गरेको हो।

फाउण्डेशनले दुवैलाई एससिएसएमएफ स्पोर्टस् अवार्ड २०२५ र नगद दुई लाख ५० हजार रुपैयाँले सम्मानित गरेको हो। फाउन्डेशनकी अध्यक्ष रेणु शाहले अवार्ड र नगद पुरस्कार प्रदान गर्दै उनीहरूलाई सम्मान गरेकी हुन्।

शरदचन्द्र शाह नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्‌मा ११ वर्षसम्म सदस्यसचिव भएर काम गरेका थिए। उनी नेपाली खेलकुदकै सफल सदस्यसचिवका रूपमा चिनिन्छन्।

उक्त अवसरमा पूर्वमन्त्री निरञ्जन थापाले खेलकुद क्षेत्रमा शाहले गरेको योगदान र उनको व्यक्तित्व बारेमा चर्चा गरे। नेपाली खेलकुदमा शाहले कसरी विकास गरेका थिए भन्नेबारे पनि पूर्वमन्त्री थापाले उल्लेख गरे। नेपाली खेलकुदले मारेको फड्कोले नै उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने थापाको भनाइ छ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर शाहले नेपालको महिला भलिबल उत्कृष्ट योगदान पुर्‍याउँदै आएकी अरुणालाई सम्मान गरेकोमा धन्यवाद दिँदै नेपाली खेलकुदमा शरदचन्द्र शाहको पालामा धेरै विकास भएको बताए।

शरदचन्द्र शाहका नाति शभिर शाहले धन्यवाद दिँदै आगामी दिनमा पनि नेपाली खेलकुदलाई अगाडि बढाउन काम गर्ने बताए।