आज बिहान मुगुमा गयो भुकम्प, आसपासका बासिन्दा त्रसित

1.66K
shares

मुगु कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो । मुगुमा आइतबार पनि भूकम्प गएको थियो । आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

२०७२ साल बैशाख १२ गतेको भूकम्पमा परि हजारौ मानिसको मृत्यु तथा भौतिक संरचनाहरु ध्वस्त भएका थिए । त्यसपछि आएका हरेक भूकम्पले आम मानिसलाई तर्साउने गरेको छ । २०७२ सालपछि नेपालमा धेरै पटक भूकम्प गईरहेको छ । कतिपयले अहिलेको समयमा आउने भूकम्प २०७२ सालकै पराकम्प रहेको समेत बताउने गरेका छन् । कुनै एक समयमा ठूलो भूकम्प गएपछि त्यसको पराकम्पहरु गईरहने भूगर्भविदहरुको तर्क छ ।

गत वर्षको पुस महिनामा पनि सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको थियो । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तीनकुण्ड केन्द्रविन्दु बनाएर गएको भूकम्प काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पले सामान्य भौतिक क्षति भएको थियो भने मानिसलाई समेत सामान्य चोटपटक लागेको थियो ।

त्यसैगरी भूकम्प जाने श्रृङ्खला नेपालमा लगातार जसो नै छ । गतवर्षको पुष महिनामा नेपाल–चीन सीमा क्षेत्रमा भुकम्प जाँदा काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्प जाँदा चीनको तिब्बतमा कम्तीमा १२६ जनाको मृत्यु भएको र सयौँ घरहरू भत्किएको थियो ।

चिनियाँ निकायहरूका अनुसार नेपाल–चीन सीमामा अवस्थित सगरमाथा क्षेत्रनजिकै केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पछि कैयौँ परकम्पहरू मापन गरिएको छ। उक्त भूकम्पले नेपाल, भारत र भुटानका विभिन्न स्थानमा पनि हल्लाएको थियो। अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७.१ म्याग्निट्यूडको भएको र त्यो जमिनभन्दा १० किलोमिटर तल गएको जनाएको थियो । नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार उक्त भूकम्पको क्षमता नेपालमा ५.३ म्याग्निट्यूड मापन गरिएको थियो भने नेपालबाट भूकम्पको केन्द्रबिन्दु औसत दूरी ९० किलोमिटर छ।