पार्टी बैठकमै उठ्यो झांक्रीलाई कारबाही गर्नुपर्ने माग

1.42K
shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा स्थायी कमिटी सदस्य रामकुमारी झांक्रीलाई कारबाही गर्नुपर्ने माग उठेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा बोल्ने अधिकांश सदस्यले झांक्रीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

युवा संघ नेपालको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा गत शनिबार पूर्वमन्त्री झाँक्रीले पार्टी पुर्नगठनको एजेण्डा उठाएकी थिइन् ।

अध्यक्षमाथि नै संकट आएकाले पुनर्गठन गरेर पार्टीलाई अगाडि बढाउनुपर्ने उनको तर्क थियो । त्यस क्रममा ‘सिनो बोकेर हिड्न’ नसकिने पनि झाँक्रीले बताएकी थिइन् । जसबारे पार्टीले स्पष्टीकरण सोधेको थियो ।

उक्त स्पष्टीकरणबारे छलफल गर्ने क्रममा सचिवालय बैठकमा नेताहरू मेटमणि चौधरी, शेरबहादुर कुँवर र राजेन्द्र राईले कारबाही गरेर पार्टीबाटै निष्कासन गर्नुपर्ने बताएका छन् ।

त्यस्तै, बेदुराम भुसालले कारबाही गर्नुपर्ने बताए पनि निष्कासन नै गर्न नहुने बताए ।

महासचिव घनश्याम भूसालले भने अहिले पार्टीभित्रै मौका दिनुपर्ने बताए । ‘कुनै न कुनै मौका दिनुपर्छ । कारबाही गरेर निष्कासन नै गर्नुपर्छ,’ भूसालले बैठकमा भने ।

त्यस्तै, जयन्ती राईले पनि झांक्रीलाई कारबाही गरेपनि पार्टीबाटै निष्कासन गर्न नहुने बैठकमा बताइन् ।

आजको बैठकमा अधिकांश नेताहरूले रामकुमारीमाथि नै छलफल केन्द्रित गरेका थिए ।

झांक्रीले आफूलाई पत्र नपठाएर नेताहरुले सञ्चार माध्यमबाट स्पष्टीकरण सोधेको भन्दै सचिवालय बैठकमै पुगेर जवाफ पत्र बुझाएकी थिइन् ।

यसअघि बैठकमा अध्यक्ष माधव कुमार नेपालमाथि लागेको भ्रष्टाचार आरोपबारे छलफल हुँदै आएको थियो ।

आजको बैठकमा भने पूर्णतयास् झांक्रीकै विषयमा केन्द्रित भएको स्रोतले अनलाइनखबरलाई बताएको छ ।