भोटेकोशी नदीमा आएको बाढीमा असई श्रेष्ठसहित तीन जना प्रहरी बेपत्ता
वि.सं.२०८२ असार २४ मंगलवार ०९:०८
shares

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा असई लालबहादुर श्रेष्ठसहित तीन जना प्रहरी बेपत्ता भएका छन् ।
मंगलबार बिहान ३ बजेतिर भोटेकोशी नदीमा आएको बाढीमा परेर असई श्रेष्ठसहित तीन जना प्रहरी बेपत्ता भएको रसुवा प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीले जानकारी दिए ।
‘बाढीमा नेपाल प्रहरीका सई श्रेष्ठसहित तीन जना प्रहरी बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहेको छ,’ डीएसपी शाहीले भने । डीएसपी शाहीका अनुसार, बाढी चीनतर्फ परेको अविरल वर्षाका कारण आएको हो ।
बाढीले नेपाल-चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको छ । पुल बगाउँदा नेपाल-चीन सम्पर्क पनि टुटेको छ । बाढीले भन्सार जाँचपासका लागि सुक्खा बन्दरगाह (ड्राइपोर्टमा) राखिएका ईभी गाडीहरू पनि बगाएको छ ।
नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
नुवाकोटको त्रिशूली बजार नजिक रहेको स्थानमा सोमबार राति जोखिममा परेपछि रुखमा चढेर बसेका दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको नेपाली सेनाले बताएको छ उद्धारपछि उनीहरुलाई सुरक्षित स्थानमा राखिएको छ । सहायक रथी बस्नेतले थपे, ‘उद्धारका लागि नेपाली सेनाको एमआई १७ र एक्वेरल हेलिकोप्टर खटिएको छ ।’
पहिलो हेलिकप्टरले उनीहरुको उद्धार नगरी फर्किएको थियो । पछि अर्को ठूलो हेलिकप्टरबाट उनीहरुको उद्धार गरिएको हो । भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी हाइड्रोपावरमा पनि क्षति पुगेको छ । हाइड्रोपावरको ड्याम र क्याम्पमा क्षति पुगेको हो ।
क्याम्प बगाएपछि कर्मचारीहरु भागेर जंगलमा गएर बसिरहेको रसुवागढी जलविद्युत् केन्द्रको प्रशासन प्रमुख टीकानाथ पौडेलले जानकारी दिए ।‘हाइड्रोपावरमा ठूलो क्षति भएको अनुमान छ । हाम्रा गाडीहरु पनि बगेका छन्’ उनले भने, ‘साथीहरु अडिट टु भनिने जंगल क्षेत्रमा गएर बसिरहनुभएको छ ।’
आयोजनाका दुई महिला सहित २५–३० जना कर्मचारीहरु रहेको र उनीहरुलाई उद्धार गर्न हेलिकप्टर पठाउने तयारी भइरहेको उनले बताए ।हाइड्रोपावरको विद्युत् उत्पादन गृह भने सुरक्षित रहेको पौडेलले जानकारी दिए ।
निजी ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष गणेश कार्कीले जलजिद्युत् आयोजनाहरुमा भएको क्षतिबारे विवरण संकलन भइरहेको बताए ।
चीनतर्फबाट आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । पुल बगाएपछि नेपाल चीन सम्पर्क विच्छेद भएको छ ।










