भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन माग गर्दै रास्वपा–राप्रपाले फेरि संसद बैठक बहिष्कार
वि.सं.२०८२ असार २४ मंगलवार १४:१०
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले मंगलबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।
प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै दुवै दलका सांसदहरु उठेर विरोध गरेका थिए । उनीहरुले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै निरन्तर सदनमा विरोध गरिरहेका छन् ।
त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा र राप्रपाका सांसदहरु सोविता गौतम र ज्ञानेन्द्र बहादुर शाहीलाई पालैपालो बोल्नको लागि समय दिएका थिए ।
सो क्रममा रास्वपा सांसद गौतमले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति बन्नुपर्ने अडान कायमै रहेको बताइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा संगै गएका केहि व्यक्तिहरु नफर्किएको खवर आइरहेको भन्दै गौतमले व्यक्ति विशेष कसैप्रति आरोप नभएपनि गम्भीर बिषय भएको धारणा राखिन् । आफ्ना माग पुरा नभएकाले निरन्तर बैठक बहिष्कार गर्नुपरेको उनको भनाइ छ ।
त्यस्तै राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले लामो समयदेखि आफुहरुले विरोध जारी राखेपछि कुनै सुनुवाई नभएको बरु जवरजस्ती सदन अघि बढाउने काम भएको बताईन् ।
उनले सहकारी ठगीका नाइके जीबी राईलाई खोज्न सरकारको ध्यानाकर्षण गराइन् ।
उनले मिलोमतोमा नै जीबी राई लुकाइएको हो की भन्दै आशंका व्यक्त गरिन् । भिजिट भिसा प्रकरणमा संख्याका आधारमा नभइ अपराधका आधारमा छानविन समिति गठन गर्नुपर्ने उनले माग गरिन् ।
गौतम र शाहीले धारणा राखेपछि दुई दलका सांसदहरुले संसद बैठक बहिष्कार गरेका थिए ।










