यू–२० महिला च्याम्पियनसिपमा सहभागी हुँदै नेपाली टिम, एन्फाको विवादास्पद प्रतिक्रिया

1.76K
shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले राष्ट्रिय महिला टीमका प्रशिक्षकले बोलेका कुरा भनेर सञ्चारमाध्यममा आएका बिषय सत्य नहोस् भन्ने कामना रहेको बताएका छन् ।

मंगलबार एन्फा कम्प्लेक्स सातदोवाटोमा साफ यू–२० महिला च्याम्पियनसिप २०२५ का लागि बंगलादेश जान लागेको यू–२० महिला राष्ट्रिय टोलीलाई औपचारिक रूपमा बिदाइ गर्दै अध्यक्ष नेम्वाङले प्याट्रिक डे वाइल्ड जस्तो व्यवसायीक प्रशिक्षकले दिएको अभिव्यक्तिले टीम, संस्था र खेलाडीलाई सकारात्मक भन्दा नकारात्मक असर पर्ने भएकाले सञ्चारमाध्यममा आएका बिषय सत्य नहोस् भन्ने कामना रहेको बताएका हुन् ।

केहि सञ्चारमाध्यममा प्रशिक्षण अवधिभर आफूमाथि दवाव आएको प्रशिक्षक प्याट्रिक भनाइ सार्वजनिक भएपछि एन्फाको यस्तो प्रतिक्रिया आएको हो ।

त्यस्तै अध्यक्ष नेम्वाङले प्रधानमन्त्री वा कसैले टिमलाई दिएको शुभकामनालाई दवावको रुपमा नलिन पनि सुझाव दिए ।

उनले बंगलादेश पुग्नुअघि नै टिमको कप्तान चयन गर्न यू–२० महिला राष्ट्रिय टोलीका प्रशिक्षकलाई आग्रह गरे ।

साफ यू–२० महिला च्याम्पियनसिप जुलाई ११ देखि २१ सम्म बंगलादेशको ढाकामा आयोजना हुदैछ ।

प्रतियोगितामा नेपालसँगै आयोजक बंगलादेश, भुटान र श्रीलंकाले सहभागिता जनाउने एन्फाले जनाएको छ ।