किराना पसलको आवरणमा १.५ अर्बको क्रिप्टो कारोबार, चिनियाँ कनेक्सन खुलेको दाबी
वि.सं.२०८२ असार २६ बिहीवार १३:५१
shares

काठमाडौँ । ललितपुर, सानेपास्थित ‘राजतीर्थ ट्रेडर्स’ नामक किराना पसलका सञ्चालक रुपेश कुमार गुप्ता र सहयोगी विपिन कुमार १ अर्ब ५० करोड रुपैयाँ बराबरको अवैध क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा सीआईबीको हिरासतमा छन्।
पसलमार्फत उनीहरूले हुन्डी कारोबारसमेत गर्ने गरेको र अनुसन्धानका क्रममा ल्यापटप र मोबाइलबाट ठूलो परिमाणमा क्रिप्टो कारोबारको प्रमाण भेटिएको प्रहरीको दाबी छ।
पसलबाट ७४ ग्राम कस्तुरीको विना पनि बरामद गरिएको छ, जसको प्रतितोला मूल्य लगभग १ लाख रुपैयाँ पर्छ। वन्यजन्तु ऐनअनुसार थप अनुसन्धान वन कार्यालयमार्फत हुँदैछ।
सीआईबी अनुसार रुपेशले दुई वर्षदेखि क्रिप्टो कारोबार गर्दै आएका थिए र चिनियाँ नागरिकहरूसँग ह्वाट्सएपमा चिनियाँ भाषामा कुराकानी गरेको प्रमाण भेटिएको छ।
हाल उनीहरूविरुद्ध अभौतिक मुद्रा तथा हुन्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान जारी छ।











