विद्युत नियमन आयोगले सार्वजनिक गर्यो वार्षिक योजना तथा कार्यक्रम

1.68K
shares

काठमाडौं । विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगले पहिलोपटक आफ्नो वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नेपालको संविधान, सरकारको नीति र ऊर्जा विकास मार्गचित्र, २०८१ को मार्गदर्शन अनुसार तयार पारिएको उक्त योजना तथा कार्यक्रममा विद्युत क्षेत्रको सुधार गर्ने, विद्युत सेवालाई सर्वसुलभ, भरपर्दो र सुरक्षित बनाउने, उपभोक्ताको हित संरक्षण गर्ने तथा यस सम्बन्धमा नियामकीय उपकरणहरु तर्जुमा गर्नेलगायतका उद्देश्यहरु प्राथमिकतामा राखिएको छ ।

आयोगका अध्यक्ष डा.रामप्रसाद धितालले आइतबार बसेको आयोगको २७९ औँ बैठकबाट आयोगको प्रथम वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरिएको उल्लेख गरे ।

‘सर्वशुलभ, भरपर्दो तथा सुरक्षित विद्युत सेवा हरेक विद्युत उपभोक्ताको अधिकार’ भन्ने मूल नारा अनुरूप आयोगको वार्षिक योजना तथा कार्यक्रम तयार पारिएको छ । आर्थिक वर्ष २०८२।८३ मा आयोगले नियामकीय संरचना विस्तार तथा सबलीकरण, र संस्थागत सुदृढीकरणलाई मुख्य लक्ष्यका रूपमा लिएको छ।

त्यसैगरी, आगामी आर्थिक वर्ष २०८२।८३ मा आयोगले जलविद्युत् आयोजनाहरूको विद्युत खरिद बिक्री सम्झौतामा समयानुकूल संसोधनसम्बन्धी उपयुक्त रणनीति तय गर्ने तथा जलविद्युत आयोजनाको उत्पादन लागत निर्धारण सम्बन्धमा अध्ययन तथा अनुसन्धान गर्ने योजना बनाएको छ।

साथै, विद्युत् आयोजनाहरूको प्राविधिक तथा वित्तीय प्रगति यकिन र मूल्यांकन गर्न स्वतन्त्र तेस्रो पक्ष वा परामर्शदातामार्फत मूल्यांकन गर्नेसम्बन्धी व्यवस्था मिलाउने योजनामा उल्लेख गरिएको छ ।