ओली–देउवालाई झट्का, विद्या, प्रचण्ड, माधव र शेखर एकैठाउँमा
वि.सं.२०८२ साउन २ शुक्रवार १२:१८
shares

काठमाडौं । आलोपालो प्रधानमन्त्री बन्नेगरी सत्ता साझेदारी गरेका नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ’काउन्टर’ दिने गरी नयाँ राजनीतिक ध्रुवीकरणको प्रयास भएको छ । सरकारका गलत कामको भण्डाफोर गर्न भनेर बन्न लागेको वाम–लोकतान्त्रिक समीकरणको उद्देश्य भने देउवा–ओली गठबन्धन टुटाएर नयाँ सरकार बनाउनु रहेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार कांग्रेस नेता शेखर कोइरालालाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेर नयाँ मोर्चाको कसरत भएको हो । पूर्वराष्ट्रपति विद्या भण्डारी, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितको ’नयाँ पोल’ बन्न लागेको हो । यी सबै मिटिङमा कांग्रेस पृष्ठभूमिका स्वतन्त्र सांसद अमरेश कुमार सिंह पनि सहभागी रहेको स्रोतको दाबी छ ।
‘राजावादी आन्दोलनमा सहभागी भएको राप्रपाबाहेक विपक्षमा रहेका सबैको नयाँ राजनीतिक समीकरणमा सहभागिता र समर्थन रहने आँकलन समेत गरिएको छ । ओली–देउवाबीच भएको ७ बुँदे सहमतिअनुसार बनेको सरकारले एक वर्ष पूरा गरेको छ । अर्को वर्ष देउवालाई सरकारको नेतृत्व दिनेगरी ओली र देउवाबीच सहमति भएको थियो ।
प्रचण्ड – कोइरालावीच भेट
विहीबार प्रचण्ड निवासमै भेट्न पुगेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालावीच प्रचण्ड निवासमै भेट भएको थियो । भेटमा प्रचण्ड र कोइरालावीच के विषयमा कुरा भयो भन्ने विषय सबैको चाँसोको विषय बनेको थियो । विहीबार भएको दुई नेतावीचको भेटमा भएको कुरा बाहिरीएको छ ।
भेटमा कांग्रेस नेता कोइरालाले केपी ओली नेतृत्वको सरकार ढाल्नका लागि प्रयास गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सुझाव दिएको बाहिर आएको छ । छलफलका क्रममा प्रचण्डले जनताको आशा कोइरालामा रहेको बताएका थिए । तर, संसदीय दलको नेता शेखर नभएको प्रसङ्ग प्रचण्डले उप्काएका थिए । त्यसपछि शेखरले प्रचण्डलाई भने, ‘पहिला यो गठबन्धन सरकार प्रमुख प्रतिपक्षी दलको नेता भएकाले ढाल्ने प्रयास गर्नुस् न । त्यसपछि पो नयाँ खेलहरू सुरु हुन्छन् । दलको नेता, प्रधानमन्त्री को बन्ने र कसरी अघि बढ्ने भन्ने कुरा हुन्छ ।’
पछिल्लो समय नेपाली काँग्रेसभित्र विद्रोहीको स्वभावमा प्रस्तुत भइरहेका कोइरालाले एमाले कांग्रेस गठबन्धनको सरकार मन पराएका छैनन् । उनी सकेसम्म यो गठबन्धन सरकार ढलोस् भन्ने चाहान्छन् । महाधिबेशनमा देउवासँग सभापतिमा पराजित भएका कोइराला देउवालाई असफल देखाउनै लागी पार्टीभित्र बेलाबेला विभिन्न हत्कडाहरु समेत अपनाउँदै आएको कांग्रेस नेताहरुले नै तर्क गर्दै आएका छन् । उसो त आफ्नै गुटका गगन थापाहरुले समेत साथ छोडेपछि एक्लिएका कोइराला सरकार अराजक बन्दै गएको भन्दै एमालेसँगको गठबन्धन देशका लागि घातक भएको टिप्पणी समेत गर्दै आएका छन् ।
पूर्वराष्ट्रपति भण्डारी र कोइरालावीच भेट
विहीबार मात्रै प्रचण्ड निवासमा पुगेका कोइराला यतीमा मात्रै रोकिएका छैनन् । आज मात्रै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमै पुगेर भेट गरेका छन् । पूर्व राष्ट्रपति भण्डारीको बुढानीलकण्ठ नगरपालिकाको भंगालमा रहेको निवासमा शुक्रबार बिहान भएको भेटको समसामयिक राजनीतिका विषयमा कुराकानी भएको बताइएको छ ।
करिब एक घण्टा भएको भेटमा डा.कोइरालाले आफूले भ्रष्टाचारको विरुद्ध सुशासनको पक्षमा आवाज उठाउँदै आएको जानकारी दिँदै त्यसमा साथ दिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह गरेका थिए । वर्तमान सरकारले भ्रष्टाचार न्यूनीकरण गर्न सोचे जति नसकेको उनको भनाइ थियो ।
त्यसपछि पूर्वराष्ट्रपति भण्डारीले सुशासनको पक्षमा हुने प्रयासमा आफ्नो साथ रहने बताइकी थिइन् । उनले आफू अब सक्रिय राजनीतिमा आउन लागेकाले डा.कोइरालासँग साथ र समर्थन समेत मागेकी छिन् ।
एमालेको सक्रिय राजनितीमा प्रवेश गरेकी विद्या भण्डारी र कांग्रेसभित्र चेपुवामा परेका कोइरालावीच भएको भेटलाई पछिल्लो समय अर्थपूर्ण रुपमा हेरिएको छ । एमालेमा बलियो पकड रहेकी भण्डारी र कांग्रेसमा विद्रोहको विजारोपण गरिरहेका कोइरालाले पछिल्लो समय पार्टीभित्र आफुलाई अब्बल देखाउन र आगामी नेतृत्वमा जाने प्रयास गरिरहेका छन् । तर एमालेमा विद्या भण्डारीका लागी अध्यक्ष केपी शर्मा ओली र कोइरालाका लागी सभापति देउवा तथा कुनै समय उनकै निकटमा रहेका गगन थापा नै भारी पर्ने देखिएको छ ।













