मन्त्रिपरिषदको बैठकमा पनि विद्या शेखरको चर्चा, सरकार ढाल्ने शेखरको योजनामा धक्का

मन्त्रिपरिषदको बैठकमा पनि विद्या शेखरको चर्चा, सरकार ढाल्ने शेखरको योजनामा धक्का

1.85K
shares

काठमाडौं । आइतार दिनभरको दौडधुप सकेर प्रधानमन्त्री केपी शर्मा ओली साँझ करिब सवा ७ बजे मन्त्रिपरिषद् बैठकमा सहभागी भए । बैठक कुनै विशेष थिएन, नियमित थियो । झण्डै डेढ घण्टा बसेको यो बैठकको सुरुमा मन्त्रालयगत एजेण्डामाथि केही छलफल भयो । आवश्यक निर्णयहरू पनि भइहाले । त्यसपछि प्रधानमन्त्री ओली नै पछिल्लो पटक सरकार परिवर्तनबारे सार्वजनिक मिडियामा आइरहेका विषयवस्तुबारे प्रष्ट पार्न खोजे ।

प्रधानमन्त्रीले नै सत्तारुढ मुख्य घटक नेपाली कांग्रेससँगको सम्बन्धमा कुनै समस्या नआएको ब्रिफिङ बैठकमा गरे । ती मन्त्रीहरूको भनाइमा, अबको ११ महिनापछि सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने र देउवासँग आफू निरन्तर संवादमा रहिरहेको सुनाए ।

उनले मन्त्रीहरूलाई निरन्तर सक्रिय भएर काम गर्न पनि निर्देशन गरेका थिए । सोही प्रसंगमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको नामै लिए ।
‘शेखर कोइराला लगायत कांग्रेसका केही नेताहरू हामीसँग यति सांसद छन् भन्ने तरिकाले अघि बढेको पनि देखिएको छ,’ प्रधानमन्त्रीले क्याबिनेटमा भने, ‘तर, उहाँलाई विपक्षीहरूले उक्साइरहेका छन् । अहिले केही हुनसक्ने अवस्था छैन ।’

अर्का एक मन्त्रीका अनुसार, दिउँसो पार्टी कार्यालय च्यासलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग ‘वान टु वान’ वार्ता गरेका ओलीले त्यसबारे पनि बैठकमा केहीबेर बोले । उनले केही नेताहरू विपक्षीसहितको साथ लिएर पूर्वराष्ट्रपतिलाई अघि बढाउन हिँडेको भए पनि त्यस्तो सम्भव नहुने बताएका थिए । उनले आन्तरिक कुरा नखोले पनि मिडियामा देखिएका कुरालाई मत्थर पार्नेगरी क्याबिनेटका सदस्यहरूलाई ब्रिफिङ गरेको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।

ओली विद्या भेटमा के भयो ?

आइतबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबीच च्यासलस्थित पार्टी कार्यालयमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भयो। पछिल्लो दशकमा एमाले मुख्यालयमा भण्डारीको यो तेस्रो भ्रमण हो, तर राजनीतिक विषयमा गरिएको पहिलो औपचारिक भेट हो। ओलीभन्दा अघि नै कार्यालय पुगेकी भण्डारीलाई ओलीको आगमन कुर्न ३७ मिनेट लाग्यो। दुईबीचको भेट झन्डै १ घण्टा ४० मिनेटजति भयो।

भेटमा ओली र भण्डारी दुबै हँसिलो मुद्रामा देखिए पनि, पछिल्ला केही दिनयता एमालेभित्र भण्डारीको सक्रियता र पार्टी सदस्यता नवीकरणका विषयमा तीव्र बहस चलेको छ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सदस्यता पेन्डिङमा रहेको बताए पनि, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे र ईश्वर पोखरेलले त्यसलाई अस्वीकार गरे। भण्डारीले स्वयंले पनि सदस्यता नवीकरण पहिले नै भइसकेको बताइन्।

भेटपछि दुवै नेता छुट्टिए तर च्यासलमा देखिएको चहलपहल र नेताहरूको सतर्क प्रतिक्रिया हेर्दा भेटवार्ताले केवल ’शिष्टाचार’ मात्र नभई गहिरो राजनीतिक अर्थ बोकेको संकेत गर्छ। तर ओली–भण्डारी संवादको वास्तविक आशय भने अझै पनि रहस्यको गर्तमै रहेको छ ।

शेखरको गुट भेला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आइतबार काठमाडौंको याक एन्ड यति होटलमा आफ्नो पक्षका सांसदहरूलाई भेला गरे। भेला औपचारिक रूपमा सार्वजनिक नभए पनि, यसले मुलुकको राजनीतिक तापक्रमलाई नयाँ मोड दिएको छ। समसामयिक राजनीति, सुशासन र पार्टीको दिशाबारे गहिरो विमर्श भइरहेको उक्त भेलामा महामन्त्री गगन थापा भने अनुपस्थित रहे।

पछिल्ला दिनहरूमा कोइरालाको चाला चुप लागेर बस्ने नेताको होइन, उनले माओवादी अध्यक्ष प्रचण्डदेखि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसम्मको ढोका ढकढक्याइसकेका छन्। देशमा भ्रष्टाचारको मौन आँधी चलिरहेको बेला, मन्त्रीहरूको घुस–अडियो प्रकरणले उनको असन्तोषलाई झनै बलियो बनाएको छ। सरकार बलियो देखिए पनि सुशासनको अनुभूति नागरिकले गर्न नसकेको भन्ने उनको पीडा कांग्रेस केन्द्रीय समिति बैठकमै पोखिएको थियो।

राजनीतिक गल्लीमा शेखर कोइरालाको सक्रियतालाई देउवा नेतृत्वविरुद्धको विकल्प खोज्ने संकेतका रूपमा हेरिएको छ। आजको भेला, त्यही यात्राको एउटा खुड्किलो हुन सक्ने चर्चा चलिरहेको छ, जहाँ सत्ता, सिद्धान्त र सुशासनको त्रिकोणमा उनले नयाँ समीकरण बुन्ने प्रयत्न गरिरहेका छन्।

सत्ता गठबन्धनमा समस्या

२०८१ असार ३० मा गठबन्धनको ‘चमत्कारी मोड’बाट केपी शर्मा ओली फेरि प्रधानमन्त्री बने, त्यो पनि परम्परागत प्रतिस्पर्धी नेपाली कांग्रेससँग हातेमालो गर्दै। ओली–देउवा सहकार्य प्रारम्भमा जनअपेक्षाको छायाँजस्तो देखिएको थियो । स्थायित्व, सुशासन र समृद्धिको वाचा पनि थियो । तर एक वर्षको यात्रामा त्यो गठबन्धन स्वार्थ, निष्क्रियता र एकअर्काको संरक्षणको चौतारीमा सीमित आकलन गर्न थालिएको छ ।

जनताले अपेक्षा गरेका लोकतान्त्रिक मूल्यहरू जोगिएनन्, संसद् गम्भीर बहसको थलो बन्नुको सट्टा कठपुतली जस्तै देखियो। माओवादी केन्द्र प्रतिपक्षमा बसेर आवाज उठाउने ठाउँमा पनि अवसरवादी व्यवहारमा अल्झियो। प्रचण्डको बोली चर्को थियो, तर सन्देश कमजोर भइदिदाँ अहिले उनको बोलि विक्न छाडेको छ । सत्ता गुमाएको पीडाले गर्दा उनी सत्ता फेरबदलको प्रयासमा उद्यत देखिए, तर त्यो प्रयास पनि सफल नभएपछि अहिल प्रचण्डले सत्ता साँझेदार दलसँगै संसदमा कुम जोडेको आरोप लाग्दै आएको छ ।

ओली नेतृत्वको सरकारमा माओवादीहरु निराश छन्, र कांग्रेसभित्र विस्तारै रडाको मच्चिदै गएको छ । देउवाको मौन समर्थनले यो गठबन्धनलाई एक वर्ष टिकाएको भए पनि त्यो मौनताभित्र असन्तुष्टि पनि गाँसिन थालेको छ । बाहिर बाहिर गठबन्धनमा समस्या नभएको गफ दिइएपनि भित्रभित्रै केही पाक्दै गएको छ ।

ओली सरकारको कार्यशैलीप्रति एमालेभित्रै र कांग्रेसभित्र पनि आलोचना चुलिँदो छ। डा. शेखर कोइरालाजस्ता नेताहरूले यसलाई गलत कदम भनेका छन्। जनताको आकांक्षाले थामेको यो गठबन्धनको पुल एक वर्षमै चर्कन थालेको छ। सत्ता साझा गरे पनि प्रतिबद्धता साझा नहुँदा कांग्रेस एमालेभित्रको यथार्थ पछिल्लो समय उजागर हुन थालेको छ।