आइसिसिकाे मञ्चमा पारसकाे सम्बाेधन, कहिले पाउँदै छ नेपालले टेस्ट राष्ट्रको मान्यता

1.29K
shares

काठमाडाै‌ । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान तथा नेपाली क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सिंगापुरमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक सम्मेलनमा नेपालको क्रिकेट यात्रा र भविष्यको दृष्टि प्रस्तुत गरेका छन्।

उनले एनपीएलको सफलतादेखि महिला क्रिकेटको प्राथमिकता, संरचनागत सुधार र टेस्ट राष्ट्र बन्ने महत्वाकांक्षा सम्मका विषयमा आफ्ना विचार राखे । नेपाल क्रिकेटको इतिहास स्मरण गर्दै पारसले आफुले करिब दुई दशक नेपाली टोलीलाई डिभिजन फाइभबाट लिएर ओडीआई राष्ट्रसम्म पुर्याएको सम्झिएका छन् । त्यतिमात्रै होइन् अहिले नेपाल जहाँ आइपुगेको छ, त्यो अविश्वसनीय रहेको र यात्रा नरोकिँने तर योजनाबद्धरूपमा अघि बढ्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालले पछिल्ला वर्षमा हासिल गरेका उपलब्धिहरू पनि पारसको भाषणमा प्रमुख विषय बनाए । नेपालले अहिलेसम्म दुईवटा विश्वकप समेत खेलिसकेको छ । एसिया कप पनि नेपालले खेलिसकेको छ । समग्रमा पछिल्लो समय नेपाली क्रिकेट बलियो बन्दै गएको छ । कार्यक्रमा पारसले भने नेपाली क्रिकेट अव पछि फर्कनेवाला छैन् । हाम्रो यात्रा निकै परसम्म पुग्नेछ, पारसले भने ।

भविष्यको लक्ष्यबारे पारसले भने, ‘हामीसँग फ्यान छन्, सरकार र आईसीसीको समर्थन छ। हामी वेस्ट इन्डिजसँग पहिलोपटक सिरिज खेल्दैछौं। नेपाल छिट्टै टेस्ट राष्ट्र बन्नेछ—यो हाम्रो सपना मात्र होइन, हाम्रो प्रतिबद्धता हो।”

टेस्ट राष्ट्र बन्न के के मापदण्ड पुरा गर्नुपर्छ

नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसोसिएट सदस्य राष्ट्र हो । केही वर्षमा टेस्ट मान्यता पाउने नेपाली क्रिकेट टोलीको लक्ष्य छ । चर्चित भारतीय कमेन्टेटर आकाश चोपडासँग सन् २०२० मा प्रसारित अन्तर्वार्तामा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्काले सन् २०३२ सम्ममा नेपालले टेस्ट मान्यता प्राप्त गर्ने लक्ष्य राखेको बताएका थिए ।

सन् २०१७ मा अफगानिस्तान र आयरल्यान्डले टेस्ट मान्यता प्राप्त गरेसँगै अहिले १२ राष्ट्र आईसीसीका पूर्ण सदस्य बनेका छन् । नेपालले टेस्ट मान्यता प्राप्त गर्न आठ वर्षको अन्तरमा कम्तीमा तीन क्रिकेट विश्वकप वा टी–२० विश्वकपमा छनोट हुनुपर्छ । सन् २०२४ को टी–२० विश्वकपमा छनोट भएसँगै सन् २०३२ सम्म नेपाल आईसीसीको थप दुई विश्वकपका लागि छनोट हुनुपर्नेछ ।

यसबाहेक, विश्वकप वा विश्वकप छनोट प्रतियोगितामा आईसीसी वरीयताको उत्कृष्ट १० मा रहेको एक राष्ट्रलाई पराजित गर्नुपर्ने हुन्छ । हालसम्म नेपालले कुनै पनि टेस्ट मान्यताप्राप्त राष्ट्रलाई एकदिवसीय अन्तर्राष्ट्रिय वा टी–२० अन्तर्राष्ट्रियमा हराउन सकेको छैन ।

यसका साथै वरीयताको शीर्ष १० मा रहेकामध्ये दुई वा दुईभन्दा बढी टेस्ट मान्यताप्राप्त राष्ट्रविरुद्ध कम्तीमा चार खेलमा जित हासिल गर्नुपर्छ भने नेपालको अन्डर–१९ क्रिकेट टोलीले सन् २०३२ सम्ममा कम्तीमा दुईवटा विश्वकपका लागि छनोट हुनुपर्छ । नेपाल सन् २०२४ भएको यु–१९ विश्वकपका लागि भने छनोट भइसकेको छ ।
यतिले मात्रै पुग्दैन । टेस्ट मान्यता प्राप्त गर्न नेपालको महिला क्रिकेट टोलीले समेत उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । नेपालले राष्ट्रिय स्तरमा २० र ५० ओभरको घरेलु प्रतियोगिता आयोजना गर्नुपर्ने हुन्छ ।

कुनै पनि राष्ट्रले टेस्ट मान्यता प्राप्त गर्न अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रंगशालाको समेत आवश्यकता हुन्छ । नेपालले टेस्ट मान्यता प्राप्त गर्नका लागि कम्तीमा दुईवटा सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण गर्नुपनर्ने हुन्छ । नेपालमा अहिले अन्र्तराष्ट्रिय मान्यताका टियु, मुलपानी, चितवनको गौतमबुद्ध, धनगढीको फाप्ला लगाएतका मैदानहरु निर्माणको क्रममा रहेपनि निर्माण सम्पन्न भइसकेका छैनन् । निर्माण सम्पन्न भइसकेपछि पनि यी संरचनाहरुले अन्तर्राष्ट्रि क्रिकेट खेलका लागी आइसिसिबाट मान्यता प्राप्त गर्नुपर्ने हुन्छ ।

नेपाललाई दोस्रो पटक आइसिसीको ग्लोबल अवार्ड

नेपाल क्रिकेट संघ ( क्यान) ले लगातार दोस्रो पटक आइसिसी डिजिटल फ्यान इंगेजमेन्ट अफ द इयर अवार्ड प्राप्त गरेको छ । सामाजिक संजालमा समर्थकहरुको संलग्नतामा उच्च कार्य गरेको भन्दै नेपालले आइसिसी डिजिटल फ्यान इंगेजमेन्ट अफ द इयर अवार्ड जितेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को सिंगापुरमा भएको वार्षिक कन्फ्रेन्स क्रममा नेपाललाई आइसिसीका प्रमुख जय साहले सो अवार्डबाट सम्मानित गरेका हुन् । विभिन्न विधाको विजेता घोषणा गर्दा नेपालले आइसिसी डिजिटल फ्यान इंगेजमेन्ट अफ दि इयरको अवार्ड जितेको हो ।

एसिया क्षेत्रको अन्य देशलाई पछि पार्दै नेपालले केही साता अघि क्षेत्रीय अवार्ड प्राप्त गरेको थियो । अन्य क्षेत्रका विजेतालाई पछि पार्दै नेपालले ग्लोबल अवार्ड जितेको हो ।

पूर्वाधारमा लगानी गर्ने बेला

एशोसिएट नेशनका रूपमा नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनु आफैंमा ऐतिहासिक हो । तर उदीयमान क्रिकेट टिमका हिसाबले असम्भव पनि होइन । यस्तो अवसर बारम्बार जुराउन भने खेलाडी र प्रशिक्षकको मिहिनेतले मात्र पुग्दैन, क्रिकेट पूर्वाधारमा राज्यको लगानी चाहिन्छ ।

टी–२० विश्वकपमा सहभागिता पनि त्यस्तै अवसर थियो, तर त्यसलाई सदुपयोग गर्न सकेन । अहिले पनि नेपाल क्रिकेट पूर्वाधारको हिसाबमा धेरै नै कमजोर छ । सुविधासम्पन्न अन्तर्राष्ट्रिय रंगशाला नभएको नेपालको क्रिकेट संरचना र विकासको चरण छैन नै भन्दा पनि हुन्छ । जिल्ला र प्रदेश तहमा रहेका संरचना चुनावमा मतदाता संकलन गर्नेभन्दा माथि उठ्न सकेका छैनन् ।