संविधान संशोधनमा गठबन्धन सरकार उदासीन भएको कांग्रेस नेताहरूको गुनासो

1.01K
shares

काठमाडौं। नेपाली कांग्रेसका ७ नेता तथा पूर्वपदाधिकारीहरूले कांग्रेस एमाले मिलेर बनेको गठनबन्धन सरकारले संविधान संशोधन प्रक्रियालाई अगाडि नबढाएको गुनासो गरेका छन् ।

सोमबार दिउँसो चाक्सीबारीमा भएको छलफलपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौंलाले गठबन्धन सरकारले संविधान संशोधन प्रक्रियालाई अगाडि नबढाएको गुनासो गरे ।

उनले भने, ‘कांग्रेस(एमालेबीच गठबन्धन हुँदा संविधानको कार्यान्वयनको समीक्षा गर्ने र संशोधन गर्ने सहमति थियो। साथै सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा राखेको छ। तर अहिलेसम्म महत्वपूर्ण यो कार्य अगाडि बढिराखेको छैन। त्यसलाई पनि अब अगाडि बढाउनुपर्छ।’

कांग्रेस नेता सिटौंलाले संविधान संशोधन र समीक्षा गर्ने विषयमा कांग्रेसबाट नेतृत्व गरेर सहभागी उपप्रधानमन्त्री एवं कांग्रेस उपसभापति प्रकाशमान सिंहसमक्ष ध्यानाकर्षण गराएको बताए ।

‘हामीले नेपाली कांग्रेसबाट सरकारमा नेतृत्व गर्नुभएका प्रकाशमानजी लगायत उपप्रधानमन्त्रीज्यूहरुलाई भनेका छौँ। उहाँले प्रधानमन्त्री समक्ष कुरा राख्नुहुनेछ,’ उनले भने, ‘
गठबन्धनको भावना बमोजिम सरकारले जनताको हितमा व्यापक काम गर्न सकोस्, आजको हाम्रो यो मान्यता रहेको छ।’

उनले आज छलफभए भएको विषयमा भोलि पार्टी सभापति शेरबहादुर देउवालाईसमेत जानकारी गराउने बताए ।

कांग्रेसका डा।शेखर कोइरालाले माओवादी अध्यक्ष प्रचण्ड र पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकोबारे सञ्‍चारकर्मीको प्रश्‍नमा सिटौलाले यो कुरा सम्बन्धित नेताहरूलाई नै सोध्दा उचित हुने जवाफ दिए ।

‘यो उहाँको कुरा हो। त्यो उहाँलाई नै सोधेको जाति हुन्छ।’ उनले भने ।

चाक्सीबारी बैठकमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजय गच्छदार, डा।शशांक कोइराला, गोपालमान श्रेष्ठ र प्रकाशशरण महत सहभागी थिए ।