नायब महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेको राजीनामा स्वीकृत, सरकारका विविध निर्णय सार्वजनिक

1.87K
shares

काठमाडौं । सरकारले नायब महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।

बुधबार साउन ४ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले नायबमहान्यायाधिवक्ता घिमिरेले साउन २ देखि लागु हुने गरी पेस गर्नुभएको स्वैच्छिक अवकाश स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले विश्व बैँकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैँकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि बैठकले गरेको छ भने बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन सम्बन्धी हस्तान्तरण पत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेको प्रवक्ता गुरुङले जानकारी दिएका छन् ।

बैठकले साउन १२ र १३ गते इथियोपियामा आयोजना हुने कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई स्वीकृति प्रदान गरेको उनले बताए ।