लुम्लेमै रेकर्ड तोड्ने वर्षा, पोखरामा गर्मीको सत्कार !
वि.सं.२०८२ साउन ११ आइतवार १५:१६
shares

काठमाडौं । अघिल्लो वर्ष २०८१ को जेठ र असार महिनामा नेपालकै चेरापुञ्जी भनेर चिनिने लुम्लेमा २ हजार १ सय २२ मिलिमिटर पानी पर्यो । यो वर्षको सोही अवधिमा दोब्बरभन्दा बढी वर्षा भएको छ ।
यो जेठ र असारमा मात्रै ४ हजार ५ सय २८ मिलिमिटर वर्षा भएको तथ्याङ्क जल तथा मौसम विज्ञान कार्यालय पोखरासँग छ । तर लुम्लेबाट केही किलोमिटरको दुरीमा रहेको पोखरामा भने आश्चर्यजनक हिसाबले वर्षा घटेको छ ।
अघिल्लो जेठ र असार महिनामा लुम्लेकै हाराहारी अर्थात् २ हजार ९२ मिलिमिटर पानी परेको पोखरामा यसपालिको दुई महिनामा ९ सय ९ मिलिमिटर मात्रै वर्षा भएको छ ।
लुम्लेमा सामान्यतया एक वर्षमा ५ हजार मिलिमिटरभन्दा बढी पानी पर्ने कीर्तिमान मानिन्छ । तर यस वर्ष मनसुनको दुई महिनामै ४ हजार ५ सय २८ मिलिमिटर पानी परिसकेकाले वार्षिक वर्षाको पुरानो कीर्तिमान तोडिन सक्ने अनुमान छ ।
यो वर्ष लुम्लेमा जुलाई २० मा एकैदिन सबैभन्दा बढी २ सय १५ मिलिमिटर वर्षा भयो भने पोखरामा जुन ११ मा १ सय ५७ मिलिमिटर वर्षा भएको थियो । विगतका तथ्याङ्क हेर्दा पोखरामा सन् १९९८ मा सबैभन्दा बढी ४ हजार ८ सय ७९ मिलिमिटर वार्षिक वर्षा भएको थियो भने सन् २००१ अगस्ट १८ मा एकैदिन ३ सय ५७ मिलिमिटर वर्षाको कीर्तिमान छ ।
जल तथा मौसम विज्ञान कार्यालयकी मौसमविद् मञ्जु बासीका अनुसार जुन र जुलाई महिनाको तथ्याङ्क हेर्दा लुम्ले र पोखराको वर्षामा ठुलो अन्तर देखिएको हो । यद्यपि, मनसुन अझै बाँकी रहेकाले अन्तिम तथ्याङ्कमा फेरबदल हुन सक्ने उनले बताइन् ।
पोखरामा पानी कम पर्दा गर्मी अत्यधिक बढेको छ । गत बिहीबार यस वर्षकै सबैभन्दा बढी ३४।५ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । सामान्यतः पोखरामा वर्षा भएपछि गर्मी घट्छ ।







