प्रचण्डको आरोप : माओवादीलाई कमजोर पार्न प्रतिक्रियावादीले गरिरहेका छन् षड्यन्त्र
वि.सं.२०८२ साउन १८ आइतवार १४:४७
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीले माओवादीलाई बिभाजन गर्न अनेक षड्यन्त्र र जालझेल गरिरहेको बताएका छन् ।
आइतबार माओवादी कार्यालय पेरिसडाँडामा आयोजित २३ औं बोत्ले स्मृति दिवसमा प्रचण्डले शान्ति सम्झौतामा आएदेखि अहिलेसम्म माओवादीलाई बिभाजन गरि कमजोर बनाउन प्रतिक्रियावादीले अनेक षड्यन्त्र र जालझेल गरिरहेको बताएका हुन् ।
अहिले सवै माओवादीधाराहरु र सच्चा क्रान्तिकारी कम्युनिस्टबीच एकता गर्ने प्रयास गरेको उल्लेख गर्दै प्रचण्डले एकता हुन नदिन प्रतिक्रियाबादीहरु पनि ज्यान छाडेर लागेको धारणा राखे ।
प्रचण्डले माओवादीले आफुलाई एकताबद्ध गर्न नसके प्रतिक्रियाबादीले प्राप्त उपलव्धीलाई समेत उल्टाउने खतरा रहेको बताए ।
क्रान्तिकारी, बामपन्थी र देशभक्तलाई एकताबद्ध गरेर प्रतिक्रियाबादीको षडयन्त्रको प्रतिवाद र प्रतिरोध गर्ने कोशीस जारी रहेको उनको भनाइ छ ।
प्रचण्डले शान्तिप्रक्रियाका बाँकी काम टुङ्गाउने कुरा अघि बढेको भन्दै अझै पनि शान्तिप्रक्रियालाई टुड्गोमा पुराउन नदिने षडयन्त्र र चलखेल देखिएको उल्लेख गरे ।
प्रचण्डले नयाँ खालको बिद्रोहद्वारा प्रतिक्रियाबादीलाई परास्त गर्नुपर्छ भन्ने संकल्पका साथ आफु हिडिरहेको बताए । कार्यक्रममा सहिद परिवारलाई सम्मान गरिएको थियो ।












