भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै रास्वपा र राप्रपाको संसद बहिष्कार
वि.सं.२०८२ साउन २० मंगलवार १३:५६
shares

काठमाडौं । रास्वपा र राप्रपाका सांसदहरुले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै संसद बहिष्कार गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरण गम्भीर मानवतस्करीको बिषय भएकाले छानविन समिति गठन गर्नुपर्ने माग राख्दै सदन बहिष्कार गरेका हुन् ।
यसअघि संसद बैठक सुरु हुने बितिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा दलका नेता विराजभक्त श्रेष्ठलाई बोल्न समय दिए ।
श्रेष्ठले नेपाली युवाहरु रोजगारी र शिक्षाका लागि अवसरका लागि विदेश जान बाध्य भएपनि भिजिट भिसाका नाममा भ्रष्टाचार हुनु जायज नभएको बताए ।
उनले सवैको मिलोमतोमा भएको भ्रष्टाचारको अन्त्य गर्न संसदीय छानविन गर्न माग गरे ।
सरकारले बनाएको समिति टालटुले समितिमात्रै भएको उनको भनाइ छ ।
त्यस्तै राप्रपा सांसद दिपक बहादुर सिंहले भिजिट भिसा प्रकरणमा विरोध गर्नेमाथि प्रतिवाद गर्ने कांग्रेस सासंदको अभिव्यक्तिप्रति आपत्ति जनाए ।
भिजिट भिसामा विदेश गएका नेपालीलाई सरकारले समेत कुनै वास्ता नगरेको भन्दै विदेशमा रोजगारी खोज्न जानेमाथि भ्रष्टाचार गर्नेमाथि छानविन हुनुपर्ने उनले बताए ।
उहाले सदन बहिष्कार गर्दा राप्रपाले पाउने भत्ता समेत नलिएको जिकिर गरे ।











