इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैठौँ मुख्यमन्त्रीमा नियुक्त, शपथ ग्रहण सम्पन्न

1.56K
shares

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका हुन् । बानियाँ बागमती प्रदेशका छैठौँ मुख्यमन्त्री हुन् ।

नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापति समेत रहेका बानियाँले सोमबार नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त समर्थनमा सरकार गठनको दाबी पेस गरेका थिए। ११० सदस्यीय प्रदेशसभामा यी दुई दलका कुल ६४ सांसदहरूको समर्थन रहेको छ ।

मकवानपुर निवासी बानियाँभन्दा अगाडि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा बागमती प्रदेशको नेतृत्व गरिसकेका छन् ।

मुख्यमन्त्री बानियाँले चाँडै नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।