वडा कार्यालयलाई विपद् पूर्वतयारीका सामाग्री, अगुवा किसानलाई नमुना फार्म सञ्चालनका सामाग्री

1.52K
shares

रामेछाप । लिखु तामाकोशी गाउँपालिका–६ र ७ मा सञ्चालित प्राङ्गारिक (दिगो) र सुरक्षित खाद्यान्न उत्पादन प्रणालीको विकास (एसएफभिसी) परियोजनाले ६ नं वडा कार्यालयलाई विपद् व्यवस्थापन पूर्वतयारीका सामाग्री वितरण गरेको छ ।
साथै सोहि परियोजनाले नमुना किसानलाई नमुना कृषि फार्म सञ्चालनको लागि पनि सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।
लिखु ताकोशी गाउँपालिका–६ खिम्तिमा आयोजित कार्यक्रममा वडाध्यक्ष शिवप्रसाद न्यौपानेलाई विपद् व्यवस्थापन पूर्वतयारी सामाग्री र किसानहरूलाई फार्मका सामाग्री हस्तान्तरण गरिएको हो ।
मनसुन साना किसान कृषि सहकारी संस्था खिम्तिसँगको साझेदारीमा दिगो कृषि तथा कृषकहरूको पेसागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धनका लागि सो परियोजना सञ्चालनमा छ ।
विषादी रहित खाद्यान्न उत्पादनमा जोड दिने सो कार्यक्रम मेड्सा डु मोण्ड र ट्रायङ्गल जेनेरेसन ह्युम्यानिटेरीको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीण विकासका लागि किसानले रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्ति मनसुन साना किसान सहकारी संस्थासँग सहकार्य गरी सञ्चालन गर्दै आएको छ ।
फ्रान्स सरकारको सहयोगमा सञ्चालित सो परियोजना रामेछापसँगै सिन्धुपाल्चोक, र काभ्रेपलाञ्चोक जिल्लामा पनि सञ्चालनमा रहेको छ । सकारीमा आबद्ध किसानलाई आयआर्जनमा जोड्न १९ वटा समूह मार्फत ३ सय ८ घरलाई कार्यक्रममा जोडिएको उनले जानकारी दिए ।
ती मध्ये ५ जना नमुना किसानलाई नमुना फार्म सञ्चालनको लागि सहयोग गरिएको उनले जानकारी दिए । यसको लागि कम्तीमा एकै ठाउँमा ३ रोपनी जग्गा भएका किसान चाहिने उनले बताए ।
किसानले उत्पादन गरेका अग्र्यानिक कृषि उपज उचित मूल्यमा बजारमा बिक्रीको व्यवस्था पनि सहकारीले मिलाएको उनले जानकारी दिए । पहिलो चरणमा सबै मापदण्ड पुरा गरेका ५ जना किसानलाई सहयोग गरिएको उनले बताए ।
किसानहरूको पेसागत स्वास्थ्य प्रवर्धनका लागि पनि यो कार्यक्रम सञ्चालन गरिएको ग्रामीण विकासका लागि किसानका परियोजना संयोजक प्रमोद चौधरीले जानकारी दिए ।
परियोजनाले अगुवा किसानलाई तालिमका साथै प्राविधिकको समेत व्यवस्था गरिएको उनले बताए । वितरण गरिएको सामाग्रीले किसानलाई कृषि उपज वृद्धि र दिगो कृषि विकासको लागि सहयोग पुग्ने उने विश्वास व्यक्त गरे ।
मेड्सा डु मोण्डका प्रोग्राम म्यानेजर महेशप्रसाद जोशीले खिम्ती प्राकृतिक भूबनोटको हिसाबले विपतग्रस्त क्षेत्र भएकोले वडा कार्यालयलाई पूर्वतयारीका सामाग्री प्रदान गरिएको जानकारी दिए ।