सांसद प्रतिनिधित्व गर्ने कांग्रेस र एमालेबाहेकका दलद्वारा ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ अस्वीकार,

1.29K
shares

काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने कांग्रेस र एमालेबाहेकका दलले राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२ संविधान बिपरित भएको भन्दै अस्वीकार गर्ने निर्णय गरेका छन् ।

बुधबार माओवादी अध्यक्ष प्रचण्डको आह्वानमा सिंहदरबारमा बसेको कांग्रेस र एमाले बाहेकका दलको बैठकले निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरुलाई पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ संविधानविपरीत रहेको निष्कर्ष निकाल्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको हो ।

बैठकले निर्वाचन आयोग एमाले–कांग्रेसको इशारामा चलेको आरोप लगाएको छ । बैठकपछि माओवादी नेता बर्षमान पुनले आयोगले तयार गरेर सुझावका लागि पठाएको कार्यविधिप्रति आफुहरुको आशंका रहेको बताए ।

दललाई नियन्त्रण गर्नका लागि कार्यविधि प्रेरित रहेकाले ठूला दलको इशारामा आयोग चलेको हो की भन्ने आभाष भएको उनले उल्लेख गरे ।

पुनले दलसम्बन्धी ऐन अपूग भए अन्य कानून बनाउने निकाय संसद भएकाले त्यसलाई छलेर आयोगले कार्यविधि बनाउन खोज्नु संविधानको उलंघन भएको जिकिर गरे ।

दलहरुलाई सहजीकरण गर्नुको साटो निर्वाचन आयोग नियमनकारी निकाय बन्न खोज्नु उचित नभएको उनको भनाइ छ । उनले यस बिषयमा कांग्रेस र एमाले बाहेकका दलले साझा रुपमा आयोगलाई पत्राचार गर्ने जानकारी दिए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले संविधान बिपरित राजनीतिक दललाई नियन्त्रण गर्नका साथै दुई ठूला पार्टी मात्रै रहने व्यवस्था आयोगले गर्न खोजेकाले विरोध रहेको बताए ।

कांग्रेस र एमालेकै चाहनाअनुरूप कार्यविधि ल्याउन लागिएकाले साझा रुपमा प्रतिवाद गरिने उनको भनाइ छ ।

त्यस्तै रास्वपाका नेता गणेश पराजुलीले राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिमा रहेका व्यवस्था संविधान विपरित रहेकाले आफुहरु यसको विरोधमा रहेको बताए ।

त्यस्तै अन्य दलका नेताहरु समेत राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिले दलहरुलाई नियन्त्रण गर्न खोजेको भन्दै विरोध जनाएका थिए ।