यू-२० महिला एसियन कप छनोट : नेपाल र भुटानबीच १-१ को बराबरी

1.37K
shares

काठमाडौं । भुटानमा आजदेखि सुरु भएको एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपाल भुटानसँग बराबरीमा रोकिएको छ ।

थिम्पुको चाङ्लिमिथाङ स्टेडियममा भएको खेलमा नेपाललाई भुटानले १-१ को बराबरीमा रोकेको हो ।

खेलको पहिलो हाफको १८ मिनेटभित्रै दुवै गोल भएको थियो । पहिलो मिनेटमै सेनु परियारले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

१८औं मिनेटमा भुटानका लागि केल्देन वाङ्‍मोले बराबरी गोल फर्काएकी थिइन् । त्यसपछि भने कुनै गोल भएन ।

साफ यू-२० च्याम्पियनसिपमा ६-१ र ८-० को जित निकालेको नेपालले आज भने भुटानविरुद्ध सोही किसिमको खेल पस्कन सकेन । भुटानले निकै सुधारिएको प्रदर्शन गरेको थियो ।

आजै भएको अर्को खेलमा उत्तर कोरियाले साउदी अरेबियालाई १५-० ले हराएको छ ।