भिजिट भिसा काण्डमा रास्वपा–राप्रपाको कडा विरोध, सदन बहिष्कार जारी

1.66K
shares

काठमाडौं। भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभामा विरोध कायमै राखेका छन् ।

बुधबार पनि संसद बैठक सुरु हुनेबितिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद अशोक चौधरीलाई बोल्न समय दिए ।

सांसद चौधरीले कोशी प्रदेश सरकारले थारु भाषालाई कामकाजीको भाषा नबनाएको भन्दै आपत्ति जनाए ।

कोशी प्रदेशले थारु समूदायप्रति उपेक्षा गरेको भन्दै थारु भाषालाई पनि सरकारी कामकाजीको भाषा बनाउन उनले माग गरे ।

उनले भिजिट भिसा प्रकरणमा भएको भ्रष्टाचारको छानविनका लागि गृहमन्त्रीको राजीनामा माग गरेपनि राज्य गम्भीर नभएको जिकिर गरे ।

उनले जिवि राईलाई कहाँ लुकाइएको छ भन्दै प्रश्न गरे । उनले भिजिट भिसा प्रकरणमा आफुहरुको आन्दोलन जारी रहेको बताए ।

त्यस्तै राप्रपा सांसद दिपक बहादुर सिंहले राप्रपाले भिजिट भिसाको विरोध नगरेको तर, भिजिट भिसाका नाममा भएको असुली धन्दाको विरोध गरेको बताए । उनले उच्चस्तरीय संसदीय आयोग बन्न नसके पूर्वप्रधानन्यायधीशको नेतृत्वको छानविन समिति गठन गर्नुपर्ने माग गरे ।

त्यसपछि दुबै दलका सांसदहरुले सदन बहिष्कार गरेका थिए । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदहरुले जेठ १३ गतदेखि सदनमा निरन्तर विरोध जनाउदै आएका छन् ।